Kathmandu Press

बैठक बहिष्कार गरेकाे भन्दै हर्क साम्पाङले मागे वडाध्यक्षहरूको राजीनामा

जनताको गरिमामय कार्यपालिका बैठकमा असभ्य, अशिष्ट र अमर्यादित भाषाशैली प्रयोग गर्ने भाँडभैलो मचाउनेलाई स्पष्टीकरण माग्दा अन्यथा मान्नुपर्ने कुनै कारण नभएको पनि उनले बताएक छन्। 
बैठक बहिष्कार गरेकाे भन्दै हर्क साम्पाङले मागे वडाध्यक्षहरूको राजीनामा

काठमाडौं, वैशाख ७ : सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले पटकपटक कार्यापालिका बैठक बहिष्कार गरेकाे भन्दै वडाध्यक्षहरूको फेरि राजीनामा मागे छन्। यसअघि उनले पुस १ गते पनि वडाध्यक्षहरूको राजीनामा मागेका थिए।

‘कसैले ‘म बैठक बस्दिनँ’ भन्न पाइँदैन । त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताका आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई आम धरानवासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ,’ उनले आज (बिहीबार) जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘वडाहरुमा के कस्ता योजना तथा कार्यक्रमहरु सम्पन्न भए भन्ने जानकारी मागेको भन्ने कुरालाई लिएर असहमति राखिरहनुपर्ने कुनै कारण नभएको तर उल्टै संविधानको धारा २७ मा उल्लेखित सूचना पाउने नागरिकको मौलिक हक दिन नमानेको देखिएकोले वडाहरुमा केकस्ता केकति काम भएका छन् तुरुन्तै सार्वजनिक गर्न यही विज्ञप्ति मार्फत निर्देशन दिन्छु।’ 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा १६ (कार्य विभाजन र कार्य सम्पादन) को उपधारा ४ 'क' (नगर प्रमुखको काम कर्तव्य र अधिकार) को ६ मा प्राप्त कार्यपालिकाको कामलाई रेखदेख, निर्देशन र नियन्त्रण गर्ने अधिकारलाई प्रयोग गर्दै जनताको गरिमामय कार्यपालिका बैठकमा असभ्य, अशिष्ट र अमर्यादित भाषाशैली प्रयोग गर्ने भाँडभैलो मचाउनेलाई स्पष्टीकरण माग्दा अन्यथा मान्नुपर्ने कुनै कारण नभएको पनि उनले बताएक छन्। 

धरान उपमहानगरपालिकाको बैठक सञ्चालन कार्यविधि २०७४ को धारा १४ को उपधारा १ को बैठकलाई सुव्यवस्थित गर्ने अधिकार प्रयोग गरेको बताउँदै उनले भनेका छन्, ‘सोही धाराको उपधारा २ मा दिएको बैठक अध्यक्षको आसनको सम्मान र आदर गर्नु कार्यपालिका सदस्यको कर्तव्य रहने भनिएकाले कार्यपालिकाको अध्यक्षता गरिरहेको नगरप्रमुखको सामुन्ने अवज्ञा गर्दै भाँडभैलो गर्नु विधिको उल्लङ्घन गर्नु हो। बैठकमा के एजेन्डामा बोल्ने र कसले कति समयमा बोल्ने भन्ने कुराको निर्णय बैठकको अध्यक्षले गर्नेछ भनी सोही कार्यविधिको सोही दफाको उपदफा ३ र ४ मा दिइएको अधिकार प्रयोग गरी धेरै नबोल्नु समय सकियो भन्दा ‘बोल्छु के गर्छस्’ भन्दै उफ्रनुले त्यस्ता सदस्यहरुको स्पष्टीकरण माग्नैपर्ने देखिन्छ।’

‘देश र जनताको सेवा गर्छु। आफ्नो कर्तव्य पूरा पार्टी, जाति, धर्म, वर्ग, क्षेत्र भन्दा माथि उठेर काम गर्छु’ भनी खाएको शपथ बिर्सेर पार्टीको ह्विपलाई जनताको ह्विप ठान्ने र जनताको विकासका कामहरु गर्न गराउन निर्णय गर्नुपर्ने महत्वपूर्ण बैठकलाई बहिष्कार गर्नेहरुप्रति खेद प्रकट गर्ने उनको भनाइ छ।

प्रकाशित मिति: १५:२६ बजे, बिहीबार, वैशाख ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्