Kathmandu Press

सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीको उर्दि-मिटरब्याज पीडितको आन्दोलनमा धरपकड नगर्नु

सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीको उर्दि-मिटरब्याज पीडितको आन्दोलनमा धरपकड नगर्नु

काठमाडौं, वैशाख ७ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौंमा भइरहेको मिटरब्याज पीडितहरूको आन्दोलन, १० बैशाखको उपनिर्वाचन र समसामयिक सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुख, गृह मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।

गृह मन्त्रालयमा करिव सवा एक घण्टा चलेको बैठकमा मिटरब्जाय पीडितको समस्या समाधानका लागि कसरी अघि बढ्दा उपयुक्त हुन्छ भन्नेबारेमा छलफल भएको थियो ।

‘मन्त्रीज्यूले उपनिर्वाचन, मिटरब्याज पीडितहरूको काठमाडौँमा जारी आन्दोलन, आन्दोलनको समस्या समाधानका लागि मन्त्रालय र सुरक्षा निकायबाट भइरहेका प्रयास र समसामयिक सुरक्षा अवस्थाबारे व्रिफिङ लिनुभयो । आवश्यक निर्देशन दिनुभयो,’ छलफलमा सहभागी एक सदस्यले भने ।

गृहमन्त्री श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा केन्द्रीय सुरक्षा समितिमा रहेका सदस्यहरू सहभागी थिए । छलफलमा गृहसचिव विनोदप्रकाश सिंह ,नेपाली सेनाका रथी सरोजप्रताप राणा, नेपाल प्रहरीका महानिरिक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत, काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र भक्तपुरका जिल्ला प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल सहभागी थिए । त्यस्तै छलफलमा प्रहरी अतिरिक्त महानिरिक्षकद्वय श्याम ज्ञवाली र मिरा चौधरीलाई पनि छलफलमा बोलाइएको थियो ।

गृहमन्त्री श्रेष्ठले मिटरब्याज पीडितहरूको आन्दोलन सहमतिमा समाधान गर्न र आन्दोलनमा धरपकड नगर्न गृहसचिव, सुरक्षा निकायका प्रमुख र उपत्ययकाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

‘उनीहरू आफै पिडामा भएर आन्दोलन गरिरहेका छन् । त्यसमाथि थप धरपकड गरेर थप पिडा दिने काम नगर्नुहोला र सहमतिमा समस्या समाधानको प्रयास गर्नुहोला,’ गृहमन्त्री श्रेष्ठको निर्देशन उध्रित गर्दै छलफलमा सहभागी एक सुरक्षा अधिकृतले भने ।

प्रकाशित मिति: १३:५३ बजे, बिहीबार, वैशाख ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्