Kathmandu Press

'आमा धर्तीमा हुनुहुन्न भन्ने कुरा अस्पतालको शैय्यामा थाहा पाएँ '

ग्यास सिलिण्डर पड्किएर घाइते भएकी भण्डारीका आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा फागुन ४ गते निधन भएको थियो ।
'आमा धर्तीमा हुनुहुन्न भन्ने कुरा अस्पतालको शैय्यामा थाहा पाएँ '

काठमाडौं, वैशाख ७ : नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीले आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन अस्पतालको बेडबाट आफ्नी दिवंगत आमालाई सम्झिदै सामाजिक संजालमा भावुक स्टाट्स लेखेका छन् ।

काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा गत फागुन ३ गते ग्यास चुहिएर विष्फोट हुँदा घाइते भएका डा. भण्डारीको भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार भइरहेको छ ।

ग्यास सिलिण्डर पड्किएर घाइते भएकी भण्डारीका आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा फागुन ४ गते निधन भएको थियो ।

उनले आज आमाको मुख हेर्ने दिन आफ्नी आमालाई सम्झिदै बारीमा मकै खन्दै गर्दा होस् या घाँस काट्दा ढिकमा, खेत र गराका आलीमा मलाई राखेर कखरा, लघुकौमुदी सिकाएको कुरा अहिले पनि आफ्नो मनमा ताजै रहेको स्मरण गरेका छन् ।

उनले आफ्नो पढाइको जग नै त्यही भएकोले तपाईँ मेरो आमा मात्र नभएर गुरु पनि हो भन्दै आफ्नी आमा अब यस धरतीमा भौतिक रुपमा हुनुहुन्न भन्ने कुरा अस्पतालको यस शैय्यामा थाहा पाएको बताएका छन् ।

उनले आमाको रिक्तताको परिकल्पनाले आफूलाई अपूरणीय पीडाको अनुभूति भएकोले यसको पूर्णता नेपाल आमा र समस्त आमाहरुको सेवामा निरन्तर लागि रहने व्यक्त गर्दै देहविमुक्त कीर्तिशेष आमालाई अश्रुपुरित श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

उनले आमाले देखाएको सत्मार्गमा निरन्तर हिँड्न सकूँ, राष्ट्र र समाजको समुन्नतिको चिन्तन गर्न सकूँ भन्दै आज मातातीर्थ औंसीको उपलक्ष्यमा आफ्नी आमालाई भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति: १२:५८ बजे, बिहीबार, वैशाख ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्