Kathmandu Press

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै कसले के भने ?

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै कसले के भने ?

काठमाडौं, वैशाख ६ : बुधबार बसेको प्रतिनिधि सभा बैठकको सुन्ने समयमा विभिन्न दलका सांसदहरुले भिन्न भिन्नै माग राखेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले सवारी चालक अनुमति प्रमाणपत्रलाई व्यवस्थित गरिनुपर्ने बताएका छन्।रास्वपाकै अर्का सांसद डा. चन्दा कार्की भण्डारीले स्वास्थ्य महत्वपूर्ण विषय भए पनि राज्यको प्राथमिकतामा नपरेको भन्दै सरकारी अस्पताल व्यवस्थित हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराकी छिन्। 

त्यस्तै सत्तापक्ष दल माओवादी केन्द्रकी सांसद उर्मिला माझीले महँगो र असमान शिक्षाका कारण भ्रष्टाचार बढेको, वर्षैपिच्छे पुस्तक फेरिँदा समस्या हुने गरेकाले तीन वर्षसम्म नफेर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिएकी छिन्।

त्यस्तै सांसद एकनाथ ढकालले यहाँको राहदानीले ३७ देशको मात्र भ्रमण गर्न पाइने भएकाले कूटनीति बलियो बनाउन अनुरोध गरेका छन्।

नेपाली कांग्रेसका सांसद ऐनबहादुर शाही ठकुरीले तिब्बत्सँग सीमा जोडिएका हुम्लाका नाका खोल्न माग गरेका छन्। मुगुको खत्याड गाउँपालिकाबाट दुई दिन हिँडेर मात्र सदरमुकाम पुग्न सकिने भएकाले गाउँपालिकामै इलाका प्रशासन कार्यालय खोल्न उनले माग गरे।

कांग्रेसका सांसद कान्तिका सैंजुवाललले कर्णाली राजमार्गलाई गौरवको आयोजनाका रुपमा विकास गर्नुपर्ने बताए । 

राप्रपाका सांसद गीता बस्नेतले राष्ट्रिय जनावर गाईको संरक्षाणका लागि सात सय ५३ वटै स्थानीय तहले गौशाला बनाउन बजेट छुट्याउनुपर्ने बताए। 

माओवादी केन्द्रकी सांसद छिरिङ लामा तामाङले गणतन्त्रको मर्मअनुरुप विकास निर्माणको काम हुनुपर्नेमा जोड दिएकी छिन् । खस सभ्यता मौलिक भएकाले सिञ्जामा प्रतिष्ठान नै स्थापना गर्न उनले आग्रह गरेकी छिन्। 

सांसद रमा कोइराला पौडेलले भारत हँुदै ओमान जान हिँडेका नेपाली महिला मुम्बईमा अलपत्र परेको सम्बन्धमा जानकारी गराउँदै उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । साथै ती महिलालाई विदेशमा कानुनी लडाइँ लड्नुपर्ने भएकाले सहयोग गर्न उनले सरकारसँग आग्रह गरे।

सांसद श्यामकुमार घिमिरले नेपालको नीजि क्षेत्रले भारतमा विद्युत् निर्यात गर्न पाउने सहमति भए पनि कानुनी अड्चन देखिएकाले तत्काल त्यस्तो कानुन निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए।

बैठकमा सांसदहरु अनिषा नेपाली, किरणकुमार साह, गोमा लाभ सापकोटालगायतले रोल्पामा विद्युत् कार्य अलपत्र बनेको, जनताको दैनन्दिन जीवनयापनमा समस्या हुँदा पनि तीन तहका सरकारको ध्यान जान नसकेकोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

 

प्रकाशित मिति: १५:०३ बजे, बुधबार, वैशाख ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्