Kathmandu Press

भूगोल बुझेका उम्मेदवार भएकाले गोविन्द भट्टराईको जित अनिवार्य : महामन्त्री शर्मा

गोविन्द भट्टराईलाई उम्मेदवार बनाएर कांग्रसले न्याय गरेको भन्दै धेरै युवा उनलाई मतदान गर्न आतुर रहेको आफूले पाएको उनले बताए।
भूगोल बुझेका उम्मेदवार भएकाले  गोविन्द भट्टराईको जित अनिवार्य : महामन्त्री शर्मा

दमाैली, वैशाख ५ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांगेसलाई बलियो बनाउने जिम्मेवारी आफूहरूको काँधमा रहेकाले त्यो जिम्मेवारी पूरा गर्ने बताएका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसबाट नै अवसर र पहिचान बनाएकाले आज कांग्रेसलाई गाली गर्ने दिन आएको महामन्त्री शर्माको भनाइ थियो।

गोविन्द भट्टराईलाई उम्मेदवार बनाएर कांग्रसले न्याय गरेको भन्दै धेरै युवा उनलाई मतदान गर्न आतुर रहेको आफूले पाएको उनले बताए। तनहुँको भूगोल बुझेको उम्मेदवार गोविन्द भट्टराई भएकाले उनको जित अनिवार्य रहेको महामन्त्री शर्माले बताए। 

देशमा केही हुँदैन, देश बन्दैन भन्ने भ्रम फैलाइएको उल्लेख गर्दै महामन्त्री शर्माले देशलाई सतीले सरापेको देश भनेर प्रचार गर्दैमा जिम्मेवारी पूरा नहुने बताए। ‘देशमा सबै कुरा भएको छ हामी भन्दैनौँ तर देशलाई बनाउँछौँ भन्ने दृढ सङ्कल्प बोकेका छौँ,’ महामन्त्री शर्माले भने। आवेगमा गरिएको राजनीतिले परिवर्तन नहुने, राजनीतिमा धैर्य आवश्यक रहेको महामन्त्री शर्माको भनाइ थियो। 

राजनीतिमा सफाइ आवश्यक भएको चर्चा गर्दैै उनले राजनीतिलाई स्वच्छ र स्वस्थ बनाउन आवश्यक रहेको बताए। पार्टीभित्र पनि आफूहरूले रुपान्तरणको मुद्दा उठाइरहेको उनले बताए। 

प्रकाशित मिति: १८:२५ बजे, मंगलबार, वैशाख ५, २०८०