विषयगत समितिको नेतृत्वबारे दलहरुमा आन्तरिक छलफल तीव्र
सत्तागठबन्धनभित्र एमालेलाई लेखा समितिको सभापति मात्रै दिएर बाँकी समितिमा भागबन्डा गर्ने तयारी भइरहेको छ भने एमालेले भने लेखाका साथै अन्य समितिमा पनि दलीय हैसियत हेरेर सभापति पाउनुपर्ने जनाएको छ।
काठमाडाैं, वैशाख ५ : प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिको नेतृत्वका विषयमा दलहरुले आन्तरिक छलफललाई तीव्रता दिएका छन्।
सत्तागठबन्धनभित्र एमालेलाई लेखा समितिको सभापति मात्रै दिएर बाँकी समितिमा भागबन्डा गर्ने तयारी भइरहेको छ भने एमालेले भने लेखाका साथै अन्य समितिमा पनि दलीय हैसियत हेरेर सभापति पाउनुपर्ने जनाएको छ।
यसै विषयमा कांग्रेसका मुख्य सचेतक रमेश लेखकले प्रतिपक्षी दल एमालेलाई एउटा मात्रै संसदीय समितिको सभापति दिन सकिने बताएका छन्। मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले लेखा समिति प्रतिपक्षी दललाई दिने अभ्यास रहेको भन्दै अन्य समितिको सभापति एमालेलाई दिन नसकिने बताए।
१० वटा विषयगत समितिमा ठूलो दलको हैसियतले कांग्रेसका सांसदहरुको संख्या धेरै हुने उनले बताए। उनले समिति सभापति कस्ले लिने भन्ने बिषयमा सत्तापक्षबीच छलफल हुन बाँकी रहेको धारणा राखे। लेखकले समितिहरुलाई पूर्णता दिएर संसदको चालू अधिवेशन अन्त्य हुने बताए।
यता एमाले सचेतक महेश बर्तौलाले लेखा समिति प्रतिपक्षीले पाउने भए पनि बाँकी रहेका ९ वटा बिषयगत समितिहरुको सभापति चयन गर्दा संसदमा दलीय हैसियतलाई ख्याल गर्नुपर्ने बताए। उनले एमाले सदनमा दोश्रो ठूलो शक्ति भएकाले एमालेलाई त्यहीअनुसार सम्मानजनक हैसियत प्रदान गर्नुपर्ने जिकिर गरे।
त्यस्तै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले समितिमा पार्टीबाट नाम पठाउन बाँकी रहेकाले छिटै दलहरुबीच छलफल गरेर नाम पठाउने जानकारी दिए।
संसदीय सुनुवाइ समिति लगाएत संयुक्त समितिमा संख्याको विषय टुंगिन बाँकी रहेकाले पनि ढिलाइ भइरहेको उहाको भनाइ छ । प्रतिनिधिसभाको नयाँ नियमावली अनुसार प्रतिनिधिसभामा १० वटा बिषयगत समिति रहनेछन्।

-1784896419.png)









