गृहमन्त्रीसँग संयुक्त राष्ट्रसंघीय प्रतिनिधिमण्डलको भेट
गृह मन्त्रालयमा सोमबार भएको भेटमा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट सन् २०२६ मा विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुने प्रक्रियामा रहेको जानकारी दिए।
काठमाडौं, वैशाख ४ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन्।
गृह मन्त्रालयमा सोमबार भएको भेटमा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट सन् २०२६ मा विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुने प्रक्रियामा रहेको जानकारी दिए।
सो सम्बन्धमा संयुक्त राष्ट्रसंघबाट भएको समन्वय तथा सहकार्यका लागि धन्यवाद दिँदै उनले दिगो विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उनले नेपालको आफ्नै मौलिक चुनौतीहरू रहेको र उक्त चुनौतीलाई सम्बोधन गर्दै स्तरोन्नति हासिल गर्नका लागि नेपालले आवश्यक तयारी गरिरहेको पनि जानकारी र्दिए।
भेटमा राष्ट्रसंघीय प्रतनिधिमण्डलबाट संरचनात्मक रुपान्तरण जरुरी हुने भएकाले नेपालले कृषि, नवीकरणीय ऊर्जाको निर्यातमा विविधिकरण, दिगो पर्यटन, व्यापार सहजीकरण र दिगो लगानीमा जोड दिनुपर्ने तथा विपद् व्यवस्थापनका लागि मातहतका निकायहरूलाई उचित माग निर्देशन गर्नुपर्ने कुरामा जोड दिइएको थियो।
जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल विपद्को सम्बन्धमा जोखिमयुक्त मुलुक रहेकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा संवेदनशील रहेको जानकारी गराए। विपद्लाई सम्रग रूपमा बुझी सोहीअनुरुप व्यवस्थापन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रधिकरणलाई निर्देशन दिइसकेको उनको भनाइ थियो।
संयुक्त राष्ट्रसंघजस्तो बहुपक्षीय संगठनको सकारात्मक सहयोगबाट मात्र शान्ति, सुरक्षा, दिगो विकास र समन्यायिक सामाजिक रुपान्तरण हासिल गर्न सकिने श्रेष्ठले उल्लेख गरेका थिए।
सो अवसरमा आपसीसम्बन्धलाई थप सुदृढ गर्न दुवै पक्ष सदैव छलफल र थप सहकार्यको लागि कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरिएको थियो।

-1784896419.png)









