शीर्ष नेताहरूबीच प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति
बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली सहभागी थिए।
काठमाडौं, वैशाख ४ : प्रमुख दलका शीर्ष नेताहरूबीच प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति भएकाे छ।
एमाले अध्यक्ष केपी ओलीको निवासमा आज (साेमबार) बिहान बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए। उनका अनुसार प्रधानमन्त्री प्रचण्डले उपयुक्त समयमा बैठक बोलाउनेछन्।
बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', कांग्रेस सभापति शेरबहादुर देउवा र ओली सहभागी थिए।
‘सर्वोच्च अदालतको प्रधानन्यायाधीश कार्यवाहक हुनुहुन्छ। लामो समयदेखि सर्वोच्चको नेतृत्व नै कार्यवाहकमा भएकाले यो स्थिति रहनुहुँदैन भन्ने कुरामा प्रधानमन्त्रीले पहल गर्नुभयो। स्थायी नियुक्तको पहल गर्नुभयो,' लेखकले भने, 'त्यसमा प्रधानमन्त्री, कांग्रेस सभापति देउवा र ओलीजीबीच सहमति भएको छ ।’
यस्तै सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयक, संसद सञ्चालन र समिति गठनको विषयमा पनि नेतृत्वबीच सहमति जुटेको उनले बताए।

-1784896419.png)









