Kathmandu Press

मिटरब्याज पीडितले सोमबारदेखि बालुवाटार, संसद् भवन र सिंहदरबार केन्द्रित आन्दोलन गर्ने

विभिन्न २४ जिल्लाबाट आएका पीडितहरूले राखेका ६ बुँदे मागका विषयलाई सरकारी वार्ता टोलीले सम्बोधन नगरेपछि एकतर्फी रूपमा वार्ता भंगको घोषणा गर्दै पीडितहरू गृह मन्त्रालयबाट बाहिरिएका थिए।
मिटरब्याज पीडितले सोमबारदेखि बालुवाटार, संसद् भवन र सिंहदरबार केन्द्रित आन्दोलन गर्ने

काठमाडौं, वैशाख ३ : काठमाडौंको शान्ति वाटिकामा आन्दोलन गरिरहेका मिटरव्याज पीडितले सोमबारदेखि बालुवाटार, संसद् भवन र सिंहदरबार केन्द्रित अन्दोलन गर्ने भएका छन्।

तीन दिनअघि सरकारी वार्ता टोलीसँग वार्ता भंगको घोषणा गरेका पीडितले थप दबाब दिन बालुवाटार, संसद् भवन र सिंहदरबार केन्द्रित अन्दोलन गर्न लागेका मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले बताए।

विभिन्न २४ जिल्लाबाट आएका पीडितहरूले राखेका ६ बुँदे मागका विषयलाई सरकारी वार्ता टोलीले सम्बोधन नगरेपछि एकतर्फी रूपमा वार्ता भंगको घोषणा गर्दै पीडितहरू गृह मन्त्रालयबाट बाहिरिएका थिए।

जुन दिन बसे पनि एउटै कुरा दोहोरिरहेकाले सरकारी टोलीसँग वार्ता बस्नुको औचित्य नभएपछि वार्ता भंग गर्नुपरेको बताए।

यता, गृह मन्त्रालयले बनाएको सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको सरकारी वार्ता टोली मिटरब्याज पीडितहरूको दोस्रो समूहसँग वार्ताको प्रतीक्षामा छ।

तीन दिनअघि वार्ता भङ्गको घोषणा गर्दै गृहमन्त्रालयबाट निस्किएका मिटरब्याज पीडितहरू त्यसपछि वार्ताका लागि भनेर मन्त्रालय आएका छैनन्। सरकारी वार्ता टोलीका संयोजक कोइरालाले उनीहरू आए जुनसुकै बेलामा पनि वार्ताका लागि तयारी अवस्थामा रहेको बताए।

मिटर ब्याज पीडितहरूसँग गृहमन्त्रालयले चैत २६ गतेदेखि वार्ता थालेको थियो । विभिन्न चरणमा वार्ता भए पनि कानूनी विषयमा गएर अड्किएको थियो।

उनीहरूले मिटरब्याजीका नाममा भएको सबै लिखत अवैध घोषण गर्नुपर्ने, आफूहरू विरुद्धको मुद्दा स्थगित र फैसला भएको मुद्दाको पुनरावलोकन हुनुपर्ने, पक्राउ पुर्जी खारेज, कारागार गएकाको रिहाइ, बैंकिङ कसुरका मुद्दा खारेज तथा मिटरब्याजीहरूको सम्पत्ति छानबिनलगायतको माग राखेका छन् ।

त्यस मागका विषयमा कानूनी कुराहरू जोडिएका र कतिपय अदालती प्रक्रियामा रहेका विषय भएकाले त्यसमा केही गर्न नसक्ने सरकारी वार्ता टोलीले जनाएको छ।

प्रकाशित मिति: २०:१३ बजे, आइतबार, वैशाख ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्