चलचित्र ‘जारी’को पाइरेसी रोक्न उजुरी
सामाजिक सञ्जालमा चलचित्र सार्वजनिक भएपछि निर्माण समूहलाई आर्थिक क्षति भएको भन्दै निर्माता पोखरेलले अनुसन्धानका लागि उजुरी दिएको जानकारी दिए।
काठमाडाैं, वैशाख ३ : नयाँ वर्षको अवसरमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘जारी’ पाइरेसी भएपछि निर्माता मणिराम पोखरेलले अनुसन्धानका लागि उजुरी दिएका छन्।
सामाजिक सञ्जालमा चलचित्र सार्वजनिक भएपछि निर्माण समूहलाई आर्थिक क्षति भएको भन्दै निर्माता पोखरेलले अनुसन्धानका लागि उजुरी दिएको जानकारी दिए।
'सामाजिक सञ्जाल टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युबलगायतमा सार्वजनिक भएको छ । चलचित्र भवनबाट खिचेर राखिएको छ। यसले हामीलाई ठूलो क्षति भएको छ', उनले भने।
यस अगाडि पनि यस्ता समस्या आइरहेकाले दीर्घकालीन समाधानका लागि उजुरी गरिएको पोखरेलको भनाइ छ । यसअगाडि उनकै समूहले निर्माण गरेको चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’समेत पाइरेसी भएको थियो ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘जारी’ मा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाललगायतको अभिनय रहेको छ।
प्रदर्शनको दुई दिनमै सो चलचित्रले रु. चार करोडभन्दा बढीको व्यापार गरेको निर्माण पक्षले दाबी गरेको छ।












