नक्कली शरणार्थी बनाउने गिरोहमाथि कारबाही गर्न संसदमा माग
आइतबार बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै एकीकृत समाजवादी पार्टीका नेता एवम् सांसद मेटमणी चौधरीले भुटानी शरणार्थी बनाउने गिरोहमाथि छानविन र कारबाही गर्न माग गरेका हुन्।
काठमाडौं, वैशाख ३ : भुटानी शरणार्थी बनाउने गिरोहलाई कारबाही गर्न व्यवस्थापिका संसदमा आवाज उठेको छ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै एकीकृत समाजवादी पार्टीका नेता एवम् सांसद मेटमणी चौधरीले भुटानी शरणार्थी बनाउने गिरोहमाथि छानविन र कारबाही गर्न माग गरेका हुन्।
सांसद चौधरीले गिरोहमा पूर्वमन्त्री समेत संलग्न भएको, गृह मन्त्रालयको गाडी समेत प्रयोग भएको विषयमा संसद वैठकमा ध्यानाकर्षण गराएका हुन्।
नेपाल सरकारले २०७५ साल मंसिर ३ गते बाँकी रहेका भुटानी शरणार्थी समस्या समाधानका लागि समिति गठन गर्ने निर्णय बमोजिम २०७६ साल साउन २४ गते तत्कालीन गृहमन्त्रीको संयोजकत्वमा ९ सदस्य समिति गठन भएको चौधरीले बताए।
‘त्यसपछि नेपालीलाई भुटानी शरणार्थी बनाउन नेपाली गिरोह सक्रिय भयो। त्यसमा तत्कालीन मन्त्री, सचिव र उच्च पदस्थ कर्मचारीहरूको समेत नाम मुछियो,’ चौधरीले भने, ‘एकजनाबाट १० लाखदेखि ५० लाख रुपैयाँसम्म उठाएको, गृह मन्त्रालयको गाडी प्रयोग भएको र मन्त्रीहरुको नातेदारको नाममा चेक समेत काटिएको म्यासेन्जर र ह्वाट्सएपमा कुराकानी भएको रेकर्ड भेटिएको छ।’
चौधरीले यो प्रकरण मानव बेचबिखन र ठगीको जघन्य अपराध रहेकाले अपराधमा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने मागड गरे।
नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहमा पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार र पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोराको समेत संलग्नता देखिएको समाचार केही दिनअघि बाहिरिएको थियो।
यस विषयमा थापाका छोराविरुद्ध पनि उजुरी परेको छ। अमेरिका उडाउने भन्दै ८७५ नेपालीलाई भुटानी बनाउने गिरोहमा राजनीतिक संलग्नता भेटिएको समाचार प्रकाशित भएको बिषयमा संसद वैठकमा आवाज उठेको हो।
पूर्वमन्त्री टोपबहादुर रायमाझीले गिरोहका नाइकेहरुसँग खिचेको सामूहिक तस्बिर र उनका छोरा सन्दीप रायमाझीका नाममा काटिएको १ करोड ५० लाखको चेकसहितको समाचार समेत छापिएको थियो।
यस्तै तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र उनका छोरा निरज राई, थापाका छोरा प्रतीक थापामगर विरुद्ध पनि उजुरी परेको समाचारमा जनाइएको छ। थापा हाल नेकपा एमालेमा उपाध्यक्ष र रायमाझी सचिव छन्। गिरोहका सदस्यले १० देखि ५० लाख रुपैयाँसम्म उठाएको आरोप छ।

-1784896419.png)









