Kathmandu Press

रास्वपा र रवि लामिछानेमाथि केसीको कटाक्ष– खास्टाले ढाकेको बिरालोले छिट्टै म्याउ गर्‍यो

उनले राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका विवरण रुजु गर्न निजी कम्पनीलाई ठेक्का दिनु गलत भएको बताए।
रास्वपा र रवि लामिछानेमाथि केसीको कटाक्ष– खास्टाले ढाकेको बिरालोले छिट्टै म्याउ गर्‍यो

काठमाडौं, वैशाख ३ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नयाँ पार्टी र नेताबाट नागरिकले नयाँ व्यवहार अपेक्षा गरे पनि पूरा हुन नसकेको बताएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सो पार्टीका सभापति रवि लामिछानेप्रति इंगित गर्दै त्यस्तो बताएका हुन्।

तत्कालीन पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सार्वजनिक खरिद ऐनविपरीत सात दिनको बोलपत्र आह्वान गरेर निजी कम्पनीलाई ठेक्का दिएको समाचार सार्वजनिक भएको विषय सदनमा उठाउँदै केसीले नयाँ पार्टीमा पनि पुरानोकै जस्तो प्रवृत्ति देखाएको जिकिर गरे।  

‘पुराना पार्टीहरुले नै गल्ती कमजोरी गरेका थिए । आफ्नो स्वार्थ अनुसार नियम कानुन बनाउथे। नयाँ आउने पार्टीले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता छक्क परेर हेरिरहेका थिए,’ उनले भने, ‘खास्टाले ढाकेको बिरालोले छिट्टै म्याउ गर्‍यो। त्यसैले यस्ता प्रवृत्तिलाई त्यसै छोड्नुहुँदैन।’

उनले राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका विवरण रुजु गर्न निजी कम्पनीलाई ठेक्का दिनु गलत भएको बताए। ‘ठेक्का दिँदा विधिविधानले स्थापित गरेको मापदण्ड घटाएर जम्मा सात दिनको बोलपत्र गर्नु कानुनी रुपमा अक्ष्यम्य छ,’ उनले भने ‘देशको विधिविधानमा कसैको आर्थिक स्वार्थ हाबी हुने स्थिति किमार्थ स्वीकार्य छैन। जुनसुकै आवरणमा प्रकट भए पनि यस्ता प्रवृत्तिलाई कानुनी संपरीक्षणमा ल्याउनु वाञ्छनीय हुन्छ।’

प्रकाशित मिति: १४:२३ बजे, आइतबार, वैशाख ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्