Kathmandu Press

एनराटीसँग रोकियो शीर्ष स्थानको आर्मी, उपाधि होड खुला

काठमाडौं, माघ ११ : सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार भएको पहिलो खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब न्युरोड टिम (एनआरटी)सँग बराबरीमा रोकि....

एनराटीसँग रोकियो शीर्ष स्थानको आर्मी, उपाधि होड खुला

काठमाडौं, माघ ११ : सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार भएको पहिलो खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब न्युरोड टिम (एनआरटी)सँग बराबरीमा रोकिएको छ।

 दशरथ रंगशालामा भएको खेलमा शीर्ष स्थानको आर्मीले एनआरटीसँग निराशाजनक गोलरहित बराबरी खेलेको हो । शीर्ष स्थानको आर्मी बराबरीमा रोकिएसँगै ए डिभिजन लिगको उपाधि होड खुला भएको छ । अब उपाधि होडमा आर्मीसँगै मच्छिन्द्र क्लब, मनाङ मस्र्याङ्दी र थ्री स्टार क्लब पनि देखिएका छन्।

एनआरटीसँगको बराबरी पछि तीन अंकको अग्रता लिने अवसर गुमाएको आर्मी १७ अंकका साथ शीर्ष स्थानमा छ । समान १६ अंक जोडेका मच्छिन्द्र र मनाङले आर्मीलाई कडा टक्क दिइरहेका छन् । गोलअन्तरका आधारमा मच्छिन्द्र दोस्रो र मनाङ तेस्रो स्थानमा छ । यस्तै, १४ अंक जोडेको थ्री स्टार चौथो स्थानमा छ । समान १२ अंक जोडेका एनआरटी र जावलाखेलको पनि उपाधिको झिनो आशा बाँकी नै छ। 

शनिबारको खेलमा आर्मी एनआरटी १० खेलाडीमा सीमित हुँदा पनि त्यसको फाइदा उठाउन सकेन । दोस्रो हाफको इन्जुरी समयमा जुनियर ओन्गुइन दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एनआरटी १० खेलाडीमा झरेको थियो। 

आर्मीसँग १ अंक खोस्ने क्रममा एनआरटीका गोलकिपर अजित प्रजापतिले उत्कृष्ट प्रदर्शन गरे । उनले आर्मीका भरत खवास, नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की, सन्तोष तामाङलगायतको प्रहारमा उत्कृष्ट बचाउ गरेका थिए । उनी खेलको म्यान अफ दी म्याच चुनिए।

 खेलपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानले ३ अंक आफ्नो लक्ष्यमा एनआरटीका गोलकिपर अजित बाधक बनेको बताए । उनले आफूले राम्रो खेलेपनि अजितकै प्रदर्शनका कारण जितबाट बञ्जित भएको बताए । उनले टिमको स्ट्राइकिङमा केही समस्या भएको र त्यसलाई अर्को खेलमा सुधार्ने पनि बताए। 

एनआरटीका प्रशिक्षक राजुकाजी शाक्य टिमको प्रदर्शनबाट खुसी देखिए । आर्मीको दबाब झेल्दै १ अंक खोस्न सक्नु सफलता भएको बताए । उनले खेलाडीलेहरुले उत्कृष्ट प्रदर्शन गरेको बताए। 

प्रकाशित मिति: १५:४७ बजे, शनिबार, माघ ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्