रास्वपा मयुरको प्वाँख टाँसेको कौवा हो : महेश बस्नेत
रवि लामिछानेको नक्कली राष्ट्रवाद र अवसरवाद बुझेकाले चितवन–२ का जनताले निर्वाचनमा हराउने दाबी नेता बस्नेत गरे।
काठमाडाैं, वैशाख २ : नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मयुरको प्वाँख टाँसेको कौवा भएको टिप्पणी गरेका छन् । काठमाडौंमा राष्ट्रिय युवा संघ नेपाले गरेको कार्यक्रममा नेता बस्नेतले रास्वपाले नक्कली राष्ट्रवादको खेती गरिरहेको जिकिर गरे।
रवि लामिछानेको नक्कली राष्ट्रवाद र अवसरवाद बुझेकाले चितवन–२ का जनताले निर्वाचनमा हराउने दाबी नेता बस्नेत गरे। उनले लामिछानेले मयुरको प्वाँख धारण गरेर जनतालाई झुक्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेको बताए।
यस्तै, उनले नेपाली राजनीतिमा दलाल पुँजीवादी शक्ति हाबी भएको बताएका छन्। नेता बस्नेतले नेपाली राजनीतिमा दलाल पुँजीवादी शक्ति हाबी भएको भन्दै समाज परिवर्तनको लागि संघर्ष गर्नु अहिलको मूल कार्यभार भएको उल्लेख गरे।
नेता बस्नेतले काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले आलोचनालाई पनि स्थान दिन आवश्यक रहेको सुझाव दिए।
यस्तै, युवा संघका निर्वाचित अध्यक्ष क्षितिजले अन्य राजनीतिक दलहरुले एमालेविरुद्ध घेराबन्दी गरेको बताएका छन्। गत आमनिर्वाचन, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा अन्य राजनीतिक दलहरुले एमालेविरुद्ध घेराबन्दी र आक्रमण गरेको आरोप लगाए।

-1784896419.png)









