सत्तारुढ तीन दलको बैठक साँझ फेरि बस्ने
मन्त्रालयको संख्या टुंगो लगाउन नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीच छलफल भएको थियो। तर सहमति जुटाउन नसक्दा बिहानको बैठकले कुनै निष्कर्ष निकालन सकेन।
काठमाडाैं, वैशाख २ : सत्तारुढ तीन दलको बैठक आज (शनिबार) साँझ फेरि बस्ने भएको छ। मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गर्न आज बिहान बसेको बैठक बिनानिष्कर्ष टुंगिएकाले साँझ फेरि बस्न लागेको हो।
मन्त्रालयको संख्या टुंगो लगाउन नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीच छलफल भएको थियो। तर सहमति जुटाउन नसक्दा बिहानको बैठकले कुनै निष्कर्ष निकालन सकेन।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहित यी दलका नेताहरूसँग मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गरेका हुन्। कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एसबाट महासचिव घनश्याम भुसाल र कृष्णकुमार श्रेष्ठ पनि थिए।
नेकपा एसले अर्को एउटा मन्त्रालय मागेपछि सहमति हुन नसकेको जनाइएको छ। नेकपा एसबाट यसअघि बेदुराम भुसाल र प्रकाश ज्वाला सरकारमा सहभागी भइसकेका छन्। आज बेलुका बस्ने बैठकमा तीन दलबीच सहमति भए प्रधानमन्त्री दाहालले भोलि मन्त्रिपरिषद्लाई पूर्णता दिनेछन्।

-1784896419.png)