Kathmandu Press

विस्थापित हुँदै नेपालगञ्जका होटल व्यवसायी

एकातिर आम्दानी बढ्नुको साटो घट्दै गइरहेको र अर्कोतिर लगानी गर्ने वातावरण नभएकाले व्यवसायी दिनप्रति दिन मर्कामा पर्न थालको खड्काले बताए।
विस्थापित हुँदै नेपालगञ्जका होटल व्यवसायी

बाँके, वैशाख २ : आर्थिक मन्दी र बैंकको ऋणका कारण नेपालगञ्जका व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको उनीहरूले गुनासो गरेका छन् । होटेल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष रङ्गबहादुर खड्काले प्रवल सम्भावना रहेको व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुगेको बताए।

उनका अनुसार व्यवसायीलाई मासिक भाडा तिर्न गाह्रो हुँदै गइरहेको छ। एकातिर आम्दानी बढ्नुको साटो घट्दै गइरहेको र अर्कोतिर लगानी गर्ने वातावरण नभएकाले व्यवसायी दिनप्रति दिन मर्कामा पर्न थालको खड्काले बताए।

नेपालगञ्जमा साना, मझौला र ठूला गरेर सात सय होटेल व्यवसायी छन् । तीमध्ये पाँच सय व्यवसायीले मात्र नवीकरण गरेका छन् । अध्यक्ष खड्काले भने, नेपालगञ्जको ठूलो होटेल व्यवसायीमध्ये एक जना विस्थापित हुनुभयो । कोभिड पछि विस्तारै उहाँको व्यापार घट्दै गयो । होटेल चल्न छाडेपछि आम्दानी हुने कुरै भएन । आम्दानी नभएकै कारण उहाँले भाडा तिर्न नसकेर अहिले विस्थापित नै हुनुभयो।”

उनले यस्तै अवस्था रहे अबको केही महिनापछि धेरै व्यवसायी विस्थापित हुन सक्ने आँकलन गरे।

विगत २५ वर्षदेखि होटेल व्यवसायीका रुपमा चिनिँदै आएका खड्काले पहिलाको तुलनामा ४० प्रतिशतले व्यवसायमा कमी आएको बताए। २५ वर्षदेखि होटल व्यवसाय गर्दै आएका उनले योभन्दा पहिला कहिल्यै यस्तो नभएको बताए। उनले भाडा तिर्न पनि समस्या भइरहेको बताए।

व्यवसायी खड्काले व्यवसायीलाई माथि उठाउन नेपाल सरकारले बैंकसँग सहकार्य गरेर बढेको ब्याजदर घटाइ दिने व्यवस्था गर्न आवश्यक रहेको बताए। उनले आर्थिक मन्दि चलिरहेकै समयमा घरबेटीले पनि घर भाडा बढाउनुको साटो भाडा घटाइ दिए व्यवसायीलाई धेरै राहत हुने तर्क गरे।

नेपालगञ्जका होटेल व्यवसायी मात्र नभई यहाँका साना ठूला सबै व्यापारी पनि बैंकले ऋण प्रवाह नगर्दा लगानी थप्न नसकेको भन्दै उनीहरू मर्कामा परेका छन्।

नेपालगञ्जका मुख्य बजार क्षेत्रमा दिनप्रति दिन सटर खाली हुन थालेका छन् । कोभिड–१९ को मारमा परेका व्यापारी गत फागुन महिनादेखि यता झनै मारमा पर्न थालेका हुन् । गोदाम र पसलमा लाखौँका सामान स्टक छन् तर कारोबार ठप्प हुँदै गइरहेको हुनाले आफू मारमा परेको व्यापारी बताउँछन्।

व्यापार सुक्दै गएपछि निकै सस्तो मूल्यमा पसल तथा रेस्टुरेण्ट बिक्री गर्न खोज्दा पनि किनीदिने मान्छे भेट्न नसकिएको गुनासो व्यवसायीले गरेका छन्।   नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले साना लगानीका व्यवसायीलाई दिने भनिएको कम ब्याजदरको ऋण पाउने कार्यविधिसमेत बन्न नसकेको बताए।

कोभिड–१९ र त्यसपछि उत्पन्न भएको आर्थिक सङ्कटले नेपालगञ्जको अर्थतन्त्र धराशयी बनाएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए। उनले व्यापार सुक्दै गएका बेला यस्तो कुरा झेल्नुभन्दा पसल नै बिक्री गर्न उचित लागेर धेरै व्यापारी विस्थापित भई सकेको बताए।

नेपालगञ्जमा नौ हजारको हाराहरीमा व्यापारी रहेका छन् भने नवीकरण जम्मा १२ सयले मात्र गरेका छन् ।

प्रकाशित मिति: ०७:५५ बजे, शनिबार, वैशाख २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्