परिवर्तनलाई विचलनमा लैजाने काम भइरहेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री दाहालले संविधानमै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई पनि अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताए।
काठमाडाैं, वैशाख १ : प्रधानमन्त्री पुष्पकमल दहालले लामो संघर्षबाट प्राप्त परिवर्तनलाई विचलनमा लैजाने काम भइरहेको बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले परिवर्तनको रक्षाका लागि सबै सजग रहन आवश्यक भएको बताए।
प्रधानमन्त्री दाहालले संविधानमै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई पनि अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताए।
प्रधानमन्त्री दाहालले भने, ‘संविधान सभाबाट भएको घोषणालाई पनि आत्मसाथ गरियो, तर अहिले त्यसलाई विभिन्न तर्क, विर्तक गरेर यसलाई कसरी असफल र उल्ट्याउन सकिन्छ र यसमार्फत सम्पूर्ण परिवर्तनलाई कसरी असफल बनाएर विचलनमा लैजान सकिन्छ भन्ने कसरत ठूलै छ ।’
वर्तमान समयमा आफ्नो पार्टी नेकपा माओवादी केन्द्र सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन जस्तो लागे पनि स्थिति सहज नरहेको उनले बताए । दाहालले जिम्मेवारीबोध गरी संघर्ष नगर्ने हो भने अफ्ठ्यारो स्थिति आउनसक्ने बताए।
यस्तै, प्रधामन्त्री दहालले नेतृत्वलाई दबाव दिएर नेतृत्व पाउने प्रणालीको अन्त्य नगरेसम्म पार्टी बन्न नसक्ने बताए । उनले कार्यकर्ताको मन जित्ने नै नेता हुने प्रणालीतिर जानुपर्छ पनि बताए।

-1784896419.png)









