Kathmandu Press

सहमतिको प्रयासले पछि धकेलियाे उद्योग वाणिज्य महासंघकाे दाेस्राे चरणकाे निर्वाचन

निवर्तमान अध्यक्ष, पूर्वअध्यक्षहरु र उम्मेदवारहरूले सहमतिको प्रयास गर्ने भन्दै समय माग गरेका कारण निर्वाचन कार्यक्रम पछि धकेलिएको मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए।
सहमतिको प्रयासले पछि धकेलियाे उद्योग वाणिज्य महासंघकाे दाेस्राे चरणकाे निर्वाचन

काठमाडौं, चैत ३० : नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष पदमा सहमतिको प्रयासका कारण दिउँसो २ बजेदेखि हुने भनिएको दोस्रो चरणको निर्वाचन दुई घन्टा पछाडि धकेलिएको छ। 

निवर्तमान अध्यक्ष, पूर्वअध्यक्षहरु र उम्मेदवारहरूले सहमतिको प्रयास गर्ने भन्दै समय माग गरेका कारण निर्वाचन कार्यक्रम पछि धकेलिएको मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए। दोस्रो चरणको निर्वाचन ४ बजेसम्मका लागि स्थगित गरिएको उनको भनाइ छ।

तीन प्रतिस्पर्धीमध्ये रामचन्द्र संघाई तेस्रो स्थानमा परेसँगै वरिष्ठ उपाध्यक्ष बन्ने सम्भावनाबाट बाहिरिएका छन्। सहमति नजुटे ४ बजेबाट पहिलो मत पाउने अञ्जन श्रेष्ठ र दोस्रो मत ल्याउने उमेशलाल श्रेष्ठबीच दोस्रो चरणको प्रतिस्पर्धा हुनेछ।

बुधबार भएको निर्वाचनको मतपरिणामअनुसार कसैले पनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि बढी मत पाएका अञ्जन र उमेशबीच दोस्रो चरणको निर्वाचन हुन लागेको हो। अञ्जनले ३७.९९ प्रतिशत मत ल्याउँदा दोस्रो स्थानमा रहेका उमेशलालले ३१.७१ प्रतिशत मत पाए। संघाई ३०.४६ प्रतिशत मतमा सीमित भए।

वरिष्ठ उपाध्यक्षको चुनावमा एउटै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्छ। दोस्रो चरणमा भने सबैभन्दा धेरै मत पाएका दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने व्यवस्था छ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष चुनिएका उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ। जसअनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन्। 

प्रकाशित मिति: १४:५३ बजे, बिहीबार, चैत ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्