युवा संघको अध्यक्षमा क्षितिज थेबे, महासचिवमा सुमन पुरी
सोमबार सुरु भएको महाधिवेशनमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि मंगलबार निर्वाचन प्रक्रिया थालिएको थियो। तर एमालेका केन्द्रीय नेताहरूको पहलमा सर्वसम्मतिमै नेतृत्व चयन गरिएको हो।
बुटवल, चैत ३० : एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व चयन भएको छ।
नेपालगन्जमा भएको नवौं राष्ट्रिय महाधिवेशनले सर्वसम्मत रूपमा क्षितिज थेबेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो। महासचिवको जिम्मेवारी भने सुमन पुरी पाएका छन्। थेबे यसअघि महासचिव थिए।
सोमबार सुरु भएको महाधिवेशनमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि मंगलबार निर्वाचन प्रक्रिया थालिएको थियो। तर एमालेका केन्द्रीय नेताहरूको पहलमा सर्वसम्मतिमै नेतृत्व चयन गरिएको हो।
अध्यक्षसहित अधिकांश पदमा दुईभन्दा बढी उम्मेदवारहरुको मनोनयन दर्तासमेत भइसकेको अवस्थामा एमाले नेताहरु महेश बस्नेत, राजीव पहारीलगायतको सक्रियतामा सर्वसम्मतिले नेतृत्व चयन गरिएको हो। नयाँ नेतृत्वका लागि अध्यक्षमा सन्तोष रावल र क्षितिज थेबेले उम्मेदवारी दिएका थिए।
उपाध्यक्षमा अमित लामा, पुष्पराज श्रेष्ठ, कृष्णहरि केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश तथा उपमहासचिवमा महेन्द्र गुरुङ र राजन थापा सर्वसम्मत रूपमा चुनिएका छन्।
उपमहासचिवमा थप तीन जनालाई प्रोटोकलमा व्यवस्थापन गर्ने गरी सचिवमा विनय शाह, खेम शर्मा, जय गुरुङ, मोहविन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, बिसा चन्द, पर्वत भण्डारी, कुवेर अधिकारी गरी नौ जनाको नाम सर्वसम्मत भएको छ। आर्थिक विभाग प्रमुखको जिम्मेवारी राकेश राईले पाएका छन्।
यसै गरी ५ जना उपमहासचिवसरह प्रोटोकल रहने विभागका प्रमुखहरू तोकिएको छ। तिनै विभागमा सचिवसरह प्रोटोकल रहेन विभागका उपप्रमुख राख्ने निर्णय भएको छ। लेखा आयोगको प्रमुखमा सन्तोष चौलागाईं, उपप्रमुखमा नानीराम तिवारी र सचिवमा प्रवीण बोगटी चुनिएका छन्।
अनुशासन आयोगको प्रमुखमा राकेश लामा, उपप्रमुखमा दीपेश खड्का र सचिवमा राजन नेपाली चुनिए। निर्वाचन आयोगको प्रमुखमा बलराम बेलबासे, उपप्रमुखमा बाबु छतकुली र सचिवमा गोपाल नेपाली चयन भएका छन्। महाधिवेशनले २८३ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

-1784896419.png)









