निजामती ऐन बनाए संघीयता कार्यान्वयनसँग जोडिएका आधा समस्या समाधान हुन्छ : मन्त्री माेदी
संघीय मामिला मन्त्रालयले निजामती विधेयक तयार पारेर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाइसकेको जानकारी उनले दिए।
काठमाडौं, चैत २९ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन बनाउन सके संघीयता कार्यान्वयनसँग जोडिएका र देखिएका आधा समस्या समाधान हुने दाबी गरेका छन्।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै उनले सबै कुरा एकैपटक प्राप्त गर्न खोज्दा सात वर्ष ऐन बन्न नसकेको बताउँदै उनले संघीय निजामती सेवा विधेयक सबैको जित हुने गरी पारित गर्ने प्रस्ताव गरे। सबै पक्षले आआफ्ना अडान राख्नुभन्दा मिल्न सक्ने हदसम्म ‘विनविन’मा विधेयक पास गर्ने प्रक्रियामा जानपर्ने उनले बताए।
‘निजामती सेवा ऐन पेचिलो बनेको छ। संघीयतासँग जोडिएका कतिपय विषय र समस्याहरु ऐन आयो भने आधा समस्या समाधान हुन्छ। अहिले त्यो विधेयक विनविनमा पास गरौं। जतिखेर पनि त्यसलाई संशोधन गर्न सकिन्छ। अहिले सबै कुरा प्राप्त गर्न खोज्यौं भने सात वर्ष बन्न नसकेको ऐन फेरि पनि बन्न सक्दैन।’
संघीय मामिला मन्त्रालयले निजामती विधेयक तयार पारेर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाइसकेको जानकारी उनले दिए। उक्त विधेयक चालू अधिवेशनमै दर्ता गर्ने प्रयासमा रहेको पनि उनले बताए।

-1784896419.png)









