Kathmandu Press

बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो

सुदूरपश्चिममा नयाँ वर्षलाई बिसु पर्वका रूपमा मनाउने गरिन्छ। यतिबेला घर बाहिर हुनेहरु पर्व मनाउन फर्किन्छन् ।
बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो

बैतडी, चैत २९ : मंगलबार राति ११ बजे बैतडीमा जिप दुर्घटना हुँदा छ जनाको ज्यान गयो। भारतमा रोजगारी गरेर नयाँ वर्ष अर्थात् बिसु पर्व मनाउन उनीहरु घर फर्किँदै थिए। बझाङको एकै गाउँका छ जना बाटोमै अस्ताए । परिवारका साथ बिसु पर्व मनाउने उनीहरुको सपना बाटोमै बिलायो।

जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ को झौलेक मोडमा से१ज ७६४ नंको जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामीको ज्यान गयो।

भारतको पिथौरागढमा मजदुरी गर्दैआएका एकै गाउँका उनीहरू मङ्गलबार घर फर्किन झुलाघाट पुगेका थिए । झुलाघाटबाट बझाङ¬स्थित गाउँ पुग्न दुई तीनवटा गाडी फेरबदल गर्नुपर्ने झन्झटले सबैले मिलेर बझाङबाटै जिप रिजर्भ गरेर मगाएका थिए । बाह्र जनामध्ये छ जनाको बिसु मनाउने सपना झौलेक भिरमै बिलायो ।  

सोही जिपमा सवार जयसिंह बोहराका अनुसार उनीसहित पाँच जना जिपको पछिल्लो भागमा बसेकाले हाम फालेर बाँच्न सफल भए । ‘सडक उकालो थियो, जिप ब्याक भएर भिरबाट खस्यो’, उनले भने, ‘जिप पछाडि पछाडि फर्किन थाल्यो, पछाडि सवार सबैले हामफाल्यौँ, जिप सोझै भिरमा खस्यो।’

गत मङ्सिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उनीहरुले गाउँमा भोट हाले । त्यसपछि रोजगारीका लागि भारतको पिथौरागढ जाने सल्लाह भयो । निर्वाचनको अर्को दिन सबैजना घरबाट हिँडेको जयसिंहले बताउँछन्। उनले भने, ‘बिसु पर्व मनाउन सबै सल्लाह गरेर घर फर्किँदै थियौँ, एकसाथ नयाँ वर्ष मनाउनै पाइएन।’

राति ११ बजे उनीहरुले खोडपे बजारमा खाना खाएका थिए। खाना खाएर अगाडि बढेको केही समयमै जिप मध्यरातमा झौलेक भिरमा दुर्घटनामा प¥यो । ‘खाना खाएपछि खोडपेमै आराम गर्न चालकलाई आग्रह गरेका थियौं, चालकले बागथला पुगेर आराम गरौंला भने’, जयसिंह भन्छन्, ‘राति यतै आराम गरौं, नयाँ वर्ष आउन एक दिन बाँकी छ, बरु बिहान झिसमिसेमै जाउँला भन्दा चालकले मानेनन्।’

दुर्घटनामा एकै गाउँका छ जनाको ज्यान गएपछि बझाङको बाँझगाउँ शोकमा डुबेको छ। पर्वको मुखमै भएको दुःखद् घटनाले बिसु खल्लो बनाएको केदारस्युँ गाउँपालिका–५ का वडाध्यक्ष मोहनसिंह ठगुन्नाले बताउँछन्।

सुदूरपश्चिममा नयाँ वर्षलाई बिसु पर्वका रूपमा मनाउने गरिन्छ। यतिबेला घर बाहिर हुनेहरु पर्व मनाउन फर्किन्छन् ।

जिप सडकबाट पाँच सय मिटर तल खसेको छ । जिप चालक मृतककै गाउँका २७ वर्षीय अर्जुन बोहरा फरार छन् । दुर्घटनालगत्तै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीलगायतको टोली घटनास्थलमा पुगेको छ । शव भिरबाट निकाल्ने काम भइरहेको छ।  

प्रकाशित मिति: ११:०५ बजे, बुधबार, चैत २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्