Kathmandu Press

माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन

माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन

काठमाडाैं, चैत २८ : नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल बनाएको छ । माओवादी संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले विधान संशोधनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको हो । 

माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेको संयोजकत्वमा कार्यदल गठन भएको सांसद राजन दाहालले जानकारी दिए । कार्यदलमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद सदस्य छन् । कार्यदलको सदस्यमा प्रतिनिधिसभाबाट पूर्ण घर्तीमगर र बिमला सुवेदी तथा राष्ट्रियसभाबाट जगप्रसाद शर्मा र गङ्गा बेलबासे छन । 

कार्यदलले विधान संशोधनका विषयमा प्रतिवेदन प्रस्तुत गर्ने र सोही प्रतिवेदनका आधारमा विधानलाई अन्तिमरुप दिइने सांसद दाहालले बताए । आफ्नो रुची अनुसारको संसदीय समिति छनोट गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो । 

बैठकमा प्रधानमन्त्री दाहालले सरकार सञ्चालन, सरकारको गतिविधिका सम्बन्धमा जानकारी गराएका थिए। अनुशाशित र मर्यादित ढङ्गबाट संसद्मा प्रस्तुत हुने विषयमा अध्यक्ष एवं प्रधानमन्त्री दाहालले निर्देशित गरेकाे उनले जानकारी दिए।

प्रकाशित मिति: १७:४७ बजे, मंगलबार, चैत २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्