फागुन मसान्तसम्म अर्थतन्त्र : मूल्यवृद्धि वाञ्छित सीमा नाघ्यो, शोधनान्तर बचतमा
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति सात दशमलवत ४४ प्रतिशत पुगेको छ। जुन सरकारले राखेको बाञ्छित सीमाको लक्ष्यभन्दा बढी हो।
काठमाडौं, चैत २८ : चालु आर्थिक वर्ष २०७९÷८० को फागुन मसान्तसम्ममा अर्थतन्त्रका केही सूचकहरू सुधारोन्मुख देखिएका छन् भने केही सूचक झन् खराब हुँदै गएको देखिएको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति सात दशमलवत ४४ प्रतिशत पुगेको छ। जुन सरकारले राखेको बाञ्छित सीमाको लक्ष्यभन्दा बढी हो।
चालु आवमा मुद्रास्फीति सात प्रतिशतभन्दा न्यून विन्दुमा राख्ने सरकारको लक्ष्य छ। राष्ट्र बैंककाअनुसार फागुन मसान्तसम्ममा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशत र अमेरिकी डलरमा १४.८ प्रतिशतले बढेको छ।
यही अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ४८ अर्ब ११ करोडले बचतमा रहेको छ। चालु आर्थिक वर्षको आठ महिनामा कूल विदेशी विनिमय सञ्चिति रु १४ खर्ब एक अर्ब २१ करोड बराबर छ।
अहिलेको विदेशी विनिमय सञ्चितिले ९.४ महिनाको वस्तु तथा सेवा धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ। आठ महिना अवधिमा सङ्घीय सरकारको खर्च ७ खर्ब ७९ अर्ब २३ करोड र राजस्व परिचालन ७ खर्ब ८२ अर्ब ७७ करोड रुपैयाँ बराबर रहेको छ। फागुन मसान्तसम्ममा विस्तृत मुद्राप्रदाय पाँच दशमलव तीन प्रतिशतले बढेको छ।
वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय नौ दशमलव एक प्रतिशतले बढेको हो। यो अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङंकलन पाँच दशमलव पाँच प्रतिशतले बढेको र निजी क्षेत्रमा प्रवाहित कर्जा चार दशमलव छ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकबाट देखिन्छ।
वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १० दशमलव पाँच प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन दशमलव एक प्रतिशत बराबर हो। फागुन मसान्तसम्ममा आयात १९ दशमलव एक प्रतिशतले, निर्यात २९ दशमलव एक प्रतिशतले र कूल वस्तु व्यापार घाटा १७ दशमलव ९ प्रतिशतले घटेको छ।

-1784896419.png)









