Kathmandu Press

रविको भूमिगत ‘कोर टिम’माथि छानविनमा किन अरुची ?

ढाकारामसँगै सभापति लामिछानेको ‘कोर टिम’ माथि एकैसाथ गहिराइमा पुगेर छानविन हुनुपर्ने माग उनीहरुले अघि सारेका छन्।
रविको भूमिगत ‘कोर टिम’माथि छानविनमा किन अरुची ?

काठमाडौं, चैत २८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले आफू मन्त्री बन्न पार्टीको ‘कोर टिम’लाई बुझाउन भनेर व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड माग गरेको अडियोका दुई क्लिप सार्वजनिक भएका छन्।

रास्वपाले उक्त अडियो प्रकरणको सत्यतथ्य पत्ता लगाउन छानविन सुरू गरिसकेको बताएको छ भने सासंद ढकाकुमारलाई निलम्बन गरेको छ।

दुई करोड प्रकरण छानविनका लागि संसदीय छानविनको माग पनि उठिरहेको छ । अडियोमा भनिए जस्तो ‘कोर टिम’लाई बुझाउन मागिएको रकमबारे रास्वपाकै कतिपय सांसद र केन्द्रीय सदस्यहरुले भित्री तहसम्मै छानविनको माग गरेका छन्। रास्वपा अध्यक्ष लामिछानेको ‘कोर टिम’लाई पनि छानविनको दायरामा ल्याइनुपर्ने उनीहरुको भानाइ छ।

प्रसाईसँग भएको अडियो संवादमा ढाकाकुमारले बारम्बार सभापति लामिछानेको ‘कोर टिम’मा रकम जाने बताएका छन्। यसैकारण त्यो समूहमाथि छानविन हुनुपर्ने माग उठेको हो। त्यो भूमिगत ‘कोर टिम’ मा को छ भनेर समेत चौतर्फी चासो र जिज्ञासा उत्पन्न हुँदै आएको छ।

यसो त लामिछाने न्युज–२४ मा रहँदा पनि पनि ‘कोरटिम’मार्फत रकम संकलन गर्ने गरेको आरोप लाग्ने गरेको थियो। टिभीमा स्टोरी प्रशारण गर्न वा नगर्न यही भूमिगत ‘कोर टिम’ मार्फत जाल फाल्ने गरिएको चर्चा मिडिया क्षेत्रमा उठ्ने गरेको थियो ।

रास्वपा निकट स्रोतका अनुसार विगतका घटना र हिमचिमबाट कोर टिममा तीन–चार जना व्यक्तिको सीमित समूह छ।

रास्वपाको शाख जोगाउनकै लागि भएपनि उक्त ‘कोर टिम’ माथि छानविन गरिनुपर्ने माग उक्त पार्टीका नेता एव्म सांसद अरनिको पाँडेलगायतले गरेका छन्। ढाकारामसँगै सभापति लामिछानेको ‘कोर टिम’ माथि एकैसाथ गहिराइमा पुगेर छानविन हुनुपर्ने माग उनीहरुले अघि सारेका छन्।

तर यस विषयमा नेतृत्वले खासै रुची नदेखाएको बताइन्छ । उपनिर्वाचनको मुखमा यस्तो विषयलाई प्रवेश गराउन नहुने भन्दै पञ्छाउन खोजिएको छ । अहिले ४० सदस्य केन्द्रीय समितिमा एकले अर्कालाई शंकाको दृष्टीले हेर्नुपर्ने अवस्था छ।

सभापति लामिछानेलाई समेत मुछेर एकपछि अर्को प्रकरण जोडिन थालेपछि रास्वपा विवादको भूमरीमा फसकेको छ।

प्रकाशित मिति: १५:११ बजे, मंगलबार, चैत २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्