Kathmandu Press

ढाकाकुमार र दुर्गा प्रसाईं संवादको दोस्रो ‘क्लिप’ पनि

ढाकाकुमार र दुर्गा प्रसाईं संवादको दोस्रो ‘क्लिप’ पनि

काठमाडौं, चैत २८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दोस्रोपल्ट गरेको कुराकानीको अडियो पनि बाहिरिएको छ ।

यसअघि श्रेष्ठले प्रसाईंसँग दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियोमा सार्वजनिक भएको थियो । दोस्रो अडियोमा आफूलाई ढाका कुमार श्रेष्ठको भाइ बताउने व्यक्ति र दुर्गा प्रसाईंबीच मोवाइल सम्वाद भएको छ । श्रेष्ठको भाई बताउने व्यक्तिले प्रसाईंसँग भेट्न चाहेको कुरा बताएका छन् । उनले प्रसाईंसँग भेट्ने समय मागेका छन् । यस्तै उनले ‘दाइले एकचोटि कुरा गर् न त’ भनेर आफूले फोन गरेको प्रसाईंलाई बताएका छन्।

‘पार्टीले अब कारबाही गर्ने भयो । दाइ साधारण सदस्य पनि नरहने, सांसद पनि जाने भयो । दाइलाई फसाए । हजुरले यसो बुझ्दिनु प¥यो यो कुरालाई,’ आफूलाई ढाका कुमारको भाइ भन्ने व्यक्तिले प्रसाईंसँग भनेको सुनिन्छ । प्रसाईंले यसमा श्रेष्ठको नभइ रवि लामिछानेको दोष रहेको भनेका छन् । प्रसाईंले श्रेष्ठलाई सहयोग गर्न तयार भएको भन्ने सुनिन्छ।

त्यसपछि ढाकाकुमारको भाइ बताउने व्यक्ति भन्छन्, ‘एकचोटि दाइले भेट्न खोज्नुभएकोथ्यो हजुरलाई, कता हुनुहुन्छ होला ?’ प्रसाईंले आफु वीरगञ्जको कार्यक्रममा रहेको र बेलुका भेट्नका लागि भन्दिनु भनेका छन् । कपुरबोट डटकमको युट्युब च्यानलबाट उक्त संवाद बाहिरिएको हो । अर्को एक भिन्नै संवादको ‘क्लिप’ मा दुर्गा प्रसाईंका सहयोगी यदु गौतमसँग कुराकानी भएको छ।

गौतमलाई फोन गर्ने व्यक्तिको आवाजमा प्रसाईंले अडियो प्रकरणबारे सकारात्मक कुरा बोलिदिए हुन्थ्यो भन्ने आसय बुझिन्छ । साथै गौतमबाट मध्यस्थताको अपेक्षा पनि गरिएको छ । दोस्रो अडियोको कुराकानी पनि ढाकाकुमारको आवाजसँग मिल्दोजुल्दो देखिन्छ। कपुरबोट डटकमले पनि यो आवाज ढाकाकुमारकै रहेको दाबी गरेको छ ।

यसअघि सार्वजनिक भएको अडियोमा श्रेष्ठले स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीको ‘कोर टिम’ लाई बुझाउनु पर्ने भन्दै प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको कुराकानी छ। उक्त अडियो सार्वजनिक भएलगत्तै श्रेष्ठ पार्टीबाट निलम्बन भइसकेका छन् । उनीमाथि रास्वपाले छानबिन सुरु गरेको छ।

 

 

प्रकाशित मिति: १३:१९ बजे, मंगलबार, चैत २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्