संसदमा धनराज गुरुङकाे प्रश्न– त्यो कोर टिम भनेको को हो? त्यसको छानबिन गर्नुपर्दैन?
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले मन्त्री बन्न व्यवसायीसँग गरेको गफगाफले सबैलाई लज्जाबोध गराएको बताए।
काठमाडौं, चैत २७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे संसदीय छानबिन समति बन्नुपर्ने माग सदनमा राखिएको छ।
आइतबार बाहिरिएको अडियोमा सांसद श्रेष्ठले मन्त्री बन्न सभापति रवि लामिछानेको कोर टिमले २ करोड रुपैयाँ माग गरेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सहयोग गर्न आग्रह गरिएको छ। उक्त अडियो प्रकरणका कारण यतिखेर विभिन्न चर्चा भइरहेका बेला सांसदहरूले सदनमा पनि सो विषयमा प्रश्न गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद एवं उपसभापति धनराज गुरुङले मन्त्री बन्न व्यवसायीसँग गरेको गफगाफले सबैलाई लज्जाबोध गराएको बताए।
‘मन्त्री बन्नकै लागि कुनै एउटा व्यवसायीसँग बडो पारदर्शी ढंगले गफगाफ गरेको सुनिन्छ। अनि सुन्छु दूधको साक्षी बिरालो बसेको। त्यो वार्तामा भनिएको छ- कोर टिमलाई बुझाउनुपर्छ। त्यो कोर टिम भनेको को हो? त्यसको पनि छानबिन गर्नुपर्दैन ?’ योभन्दा लज्जाबोध के हुन सक्छ?’ उनले भने, ‘सांसद श्रेष्ठलाई रकम माग्न लगाउने उक्त कोर टिमबारे पनि छानबिन हुनुपर्छ। त्यसका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्छ,
सांसद श्रेष्ठले गरेको कुराकानी, भ्रष्टाचार, कमिसन आदिबारे संसद चुप लागेर बस्न नहुनेमा जोड दिँदै उनले भने, ‘आजकै दिनमा यही बैठकबाट एउटा संसदीय समिति बनाएर यो घटनाको निष्पक्ष छानबिन गर्नका लागि म माग गर्दछु।’
नेपाल मजदुर किसान पार्टी (नमकिपा) का सांसद प्रेम सुवालले पाँचपटक मन्त्री भएका एक पूर्वमन्त्रीले ‘अर्बौं भ्रष्टाचार गर्ने पद मन्त्री हो’ भनी लेखेको कुरा स्मरण भएको बताए। सत्ता गठबन्धनकै सांसदले स्वास्थ्यमन्त्री हुन अढाइ करोड रुपैयाँ बुझाउनुपर्ने बताएको टेलिफोन रेकर्ड सार्वजनिक हुनुले पूर्वमन्त्रीले लेखेको स्मरण पुष्टि भएको समेत बताए। सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको उनले बताए।
उनीहरूले बोल्नुअघि रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सांसद श्रेष्ठले मेडिकल व्यावसायीसँग दुई करोड मागेको अडियो प्रकरणलाई पार्टीले गम्भीर रुपमा लिएको भन्दै त्यसबाट सांसदहरूमा पर्न गएको चोटप्रति पार्टीका तर्फबाट माफी मागेका थिए।

-1784896419.png)









