गृहमन्त्री श्रेष्ठले भने– २ करोडको अडियो कान्डको छानविन हुन्छ
उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यही अनुसार अघि बढ्ने बताए ।
काठमाडाैं, चैत २७ : आइतबार सार्वजनिक भएको मन्त्री बन्न २ करोड सहयोग मागिएको अडियोका सम्बन्धमा छानविन हुने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्ने पक्का भएको त्यसका लागि २ करोड पार्टीलाई बुझाउनु पर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सहयोग मागेको अडियो सार्वजनिक भएको थियो ।
त्यही अडियो प्रकरणका सम्बन्धमा चितवनमा प्रत्रकारहरुले सोधेको प्रश्नमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यही अनुसार अघि बढ्ने बताए ।
‘दुई करोडको कुरा आएको छ, त्यसको अनुबन्धान हुन्छ, अहिले हामी निष्कर्षमा पुगिसकेका छैनौं,’ उनले भने, ‘अनुसन्धानको प्रक्रिया अघि बढेपछि अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यही अनुसार हामी अघि बढ्ने कुरा हुन्छ।’
उपप्रधानमन्त्री श्रेष्ठले अडियो प्रकरणबारे सम्बन्धित पार्टी र तिनका नेताहरुले नै प्रष्ट पार्नुपर्ने उल्लेख गरे।
अडियो प्रकणका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविन गर्ने बताइसकेको छ।

-1784896419.png)









