Kathmandu Press

भक्तपुरमा सुरु भयाे विस्केट जात्रा

पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको हो।
भक्तपुरमा सुरु भयाे विस्केट जात्रा

भक्तपुर, चैत २७ : आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि घुइँचो लागेको छ।

बिहान ५ बजेदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरेर जात्राको शुभारम्भ भएको गुठी संस्थान कार्यालयकी प्रमुख खिमा वलीले जानकारी दिए । उनका अनुसार पूजापछि भैरवको रथ तान्न सुरु गरिने छ ।

पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको हो।

विगत वर्षमा अपराह्न ५ बजेपछि रथ तान्न सुरु गरी राति अबेरसम्म टौमढीबाट रथलाई माथि र तल तानेर गःहिटी पु¥याउने चलन थियो । यस वर्ष भने भैरवनाथको रथ अपराह्न ५ बजेसम्म गःहिटीमा पु¥याइ पहिलो दिनको जात्रा सम्पन्न गर्ने तयारी छ।

रथमा जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिबाहेक अन्य व्यक्ति चढ्न नदिने वलीले बताए।

आजको जात्रा सम्पन्न भएपछि चैत ३१ गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ बजे लिङ्गो उठाइने जात्रा हुने । आगामी वैशाख १ गते अपराह्न ५ बजेभित्र लिङ्गो ढाल्ने र वैशाख ५ गते अपराह्न ५ बजेसम्म रथ तानीसकेर जात्रा सम्पन्न गर्ने गरी तयारी छ।
    
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिस्केट जात्रामा हुल दङ्गा हुन नदिन र शान्तिपूर्णरुपमा जात्रा सम्पन्न गराउन आवश्यक तयारी गरिएको बताए। प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीका अनुसार जात्राका लागि झण्डै सात सय सुरक्षाकर्मी खटाइएको छ ।

प्रकाशित मिति: ०९:३७ बजे, सोमबार, चैत २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्