अडियो प्रकरण : रास्वपाकाे कारबाहीले श्रेष्ठ सांसद र पार्टी पदबाट निलम्बित
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई कारबाहीस्वरुप सांसद पद र पार्टी सदस्यबाट निलम्बन गरेको हो।
काठमाडौं, चैत २६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. ढाकाकुमार श्रेष्ठलाई पदबाट निलम्बन गरेको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई कारबाहीस्वरुप सांसद पद र पार्टी सदस्यबाट निलम्बन गरेको हो। यसबारे महामन्त्री मुलुक ढकालका तर्फबाट आधिकारिक विज्ञप्ति जारी हुने रास्वपाको भनाइ छ।
सांसद श्रेष्ठलाई निलम्बन गरिने र उनीमाथि थप छानबिन हुने रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।
रास्वपाको समानुपातिक कोटाबाट सांसद बनेका श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको भन्दै दुर्गा प्रसाईसँग पार्टीलाई रकम बुझाउन भन्दै २ करोड मागेको अडियो सार्वजनिक भएको थियो।
मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेको बताउँदै सांसद श्रेष्ठले प्रसाइसँग गरेको कुराकानी अडियोमा सुनिन्छ। प्रसाईंले दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिने आश्वासन दिएर आफ्नो काम गरिदिनुपर्ने सर्त राखेका छन्।

-1784896419.png)









