Kathmandu Press

उपनिर्वाचनको तयारी तीव्र

मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कुल ६९ जनाको उम्मेदवारी दर्ता भएको छ।
उपनिर्वाचनको तयारी तीव्र

काठमाडौं, चैत २६ : आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्ना तयारीमा तीव्रताका साथ जुटेका छन्।

मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कूल ६९ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमध्ये बारा क्षेत्र नं २ मा सबैभन्दा धेरै ३६ जनाको उम्मेदवारी परेको छ। साथै तनहुँ क्षेत्र नं १ मा नौ र चितवन क्षेत्र नं। २ मा २४ जना उम्मेदवारी परेको छ। 

बारा क्षेत्र नं २ मा गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनता समाजवादी पार्टीबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ। सो क्षेत्रमा त्यसबेला खसेकोमध्ये ६३ हजार सात सय ४२ सदर मतमा साहले १३ हजार आठ सय २२ मत प्राप्त गरी विजय हासिल गरेका थिए।

उनका प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र) का शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार चार सय ३८ र स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादवले ११ हजार ४३ मत प्राप्त गरेका थिए। समानुपातिकतर्फ जसपाले १३ हजार दुई सय ४२, नेपाली कांग्रेसले ११ हजार एक सय ७९ र नेकपा ९एमाले०ले नौ हजार एक सय ९३ मत प्राप्त गरेका थिए। 

यस क्षेत्रमा उपनिर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेबाट पुरुषोत्तम पौडेल र सत्ता गठबन्धनमै रहेको जनमत पार्टीबाट शिवचन्द्रप्रसाद कुशवाहा उम्मेदवार हुनुहुन्छ। कुशवाह हालै माओवादी केन्द्रबाट जनमत पार्टीमा प्रवेश गरेका हुन्।

मङ्सिर ४ गतेको निर्वाचनमा चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेशबाट पदविहीन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। उक्त निर्वाचनमा खसेकोमध्ये ८० हजार सात सय ५३ मत सदर भएकामा सभापति लामिछानेले ४९ हजार तीन सय मत प्राप्त गरी विजयी भएका थिए। उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८८ र नेकपा ९एमाले०का कृष्णभक्त श्रेष्ठले १४ हजार छ सय ५२ मत प्राप्त गरेका थिए। 

यस क्षेत्रबाट समानुपातिकमा रास्वपाले ३५ हजार नौ सय ४५, एमालेले १६ हजार सात सय ८४ र नेपाली कांग्रेसले १२ हजार एक सय ३२ मत प्राप्त गरेका थिए। यस क्षेत्रमा उपनिर्वाचनका लागि चार सय ७० थप भई  एक लाख २४ हजार छ सय ९५ मतदाता कायम भएका छन्। उपनिर्वाचनका लागि रास्वपाबाट पुनः लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानलगायतको उम्मेदवारी परेको छ। 

तनहुँ क्षेत्र नं १ मा मङ्सिर ४ गतेको निर्वाचनमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति हुनुभएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो। उक्त निर्वाचनमा खसकेकोमध्ये ६२ हजार छ सय ९५ सदर मतमध्ये पौडेलले २५ हजार तीन सय ६१ मत प्राप्त गर्नुभएको थियो। उहाँका प्रतिष्पर्धी नेकपा (एमाले) का एकबहादुर राना मगरले १९ हजार नौ सय ८१ र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार आठ सय ८६ मत प्राप्त गर्नुभएको थियो। समानुपातिकतर्फ कांग्रेसले २० हजार एक सय ५८, एमालेले १६ हजार छ सय ८३ र रास्वपाले १२ हजार सात सय ७३ मत प्राप्त गरेका थिए। 

तनहुँ १ मा उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्लेलगायत उम्मेदवार छन्। यस निर्वाचन क्षेत्रमा मङ्सिर ४ गते यता एक सय ८५ मतदाता घटेर एक लाख २३ हजार तीन सय पाँच कायम भएका छन्।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्वीकृत मतदाता नामावली बमोजिम २०७९ वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिमध्ये ८८ लाख हजार ५२ हजार ४६ महिला, ९१ लाख ४९ हजार तीन सय ३५ पुरुष र एक सय ८५ अन्य गरी एक करोड ८० लाख एक हजार पाँच सय ६६ मतदाता कायम छन्। 

 गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनयता १२ हजार नौ सय ९६ मतदाता सङ्ख्या वृद्धि भएको छ। उपनिर्वाचन हुने तीन जिल्लाका लागि एक सय ९४ मतदानस्थल र चार सय २७ मतदानकेन्द्र कायम भएको छ। सो अनुसार गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा रहेका मतदान केन्द्र र मतदान स्थलमध्ये बारा क्षेत्र नं २ मा एक मतदान केन्द्र थप भएको छ। आयोगले उपनिर्वाचनका लागि यही चैत २४ गतेदेखि निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ भने उम्मेदवारले निर्वाचनमा खर्च गर्न पाउने हद निर्धारण गरिसकेको छ।

प्रकाशित मिति: १४:५४ बजे, आइतबार, चैत २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्