Kathmandu Press

हिमालयन शेर्पालाई हराउँदै थ्रीस्टार तेस्रो स्थानमा उक्लियो

काठमाडौं, माघ ९ :  हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै थ्रीस्टार क्लब सहिद स्मारक एक डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ। बिहीबार दशरथ र....

 हिमालयन शेर्पालाई हराउँदै थ्रीस्टार तेस्रो स्थानमा उक्लियो

काठमाडौं, माघ ९ :  हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै थ्रीस्टार क्लब सहिद स्मारक एक डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पालाई ३–१ गोल अन्तरले पराजित गरेको हो।

शेर्पाविरुद्धको जितसँगै थ्रीस्टार ८ खेलमा ४ जित, २ हार र २ बराबरीसहित १४ अंक जोडेको छ। फ्रेन्ड्स भने ८ अंक जोड्दै १०औं स्थानमा छ। समान १६–१६ अंक जोडेका त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब शीर्ष दुईमा छन्। १३ अंकका साथ डिफेन्डिङ च्याम्पियन मनाङ चौथो स्थानमा छ। आर्मी र मनाङले एक खेल कम खेलेका छन्।

थ्री स्टारको जितमा सुशील राई, संजोग राई र ओलानडिरन हजमतले समान एक–एक गोल गरे। हिमालयन शेर्पाका स्टेफन समिरले सान्त्वना गोल गरे। खेलको छैठौं मिनेटमा सुशीले लाल रम्मावराको पासमा गोल गर्दै थ्रीस्टारलाई सुरुवातमै अग्रता दिलाए। 

पहिलो हाफको इन्जुरी समयमा हिमालयन शेर्पाले खेललाई बराबरीमा ल्यायो। इन्जुरी समयको दोस्रो मिनेटमा स्टेफनले हिमालयन शेर्पाका लागि बराबरी गोल गरे।

इन्जुरी सयमै थ्रीस्टार पुनः अग्रता बनायो। इन्जुरी समयको तेस्रो मिनेटमा संजोगले गोल गरेका थिए।  ५० औं मिनेटमा हाजमतले गोल गर्दै थ्री स्टारलाई ३–१ को अग्रता दिलाए। उनले निशान खड्काको पासमा उत्कृष्ट गोल गरेका थिए। त्यसपछि खेलमा कुनै गोल नहुँदा थ्री स्टारले सहज जित निकाल्यो।

खेलप्रति दुवै टिमका प्रशिक्षक खुसी देखिएनन्। थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले तीन अंक आए पनि खेल रौनकबिहीन निरस भएको प्रतिक्रिया दिए। उनले प्रतियोगितामा एकै किसिमको खेल खेल्न नसकेको बताउँदै टिममा अझै धेरै कुरा सुधार्नु पर्ने बताए। 

हिमालयन शेर्पाका प्रशिक्षक सञ्जिव बुढाथोकीले खेलाडी सोचेजस्तो नखेलेको बताए। गोल गर्ने अवसर हुँदाहुँदै पनि खेलाडी बढी जान्ने बन्दा पराजित हुनु परेको उनले बताए।
 

प्रकाशित मिति: १६:५७ बजे, बिहीबार, माघ ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्