Kathmandu Press

सरकारसँग वार्ता गर्न मिटरब्याज पीडितले गठन गरे समिति

वार्ताका लागि उनीहरुले आइतबार १९ सदस्यीय वार्ता समिति गठन गरेको किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले जानकारी दिए।
सरकारसँग वार्ता गर्न मिटरब्याज पीडितले गठन गरे समिति

काठमाडौं, चैत २६ : सरकारसँग वार्ता गर्नका लागि काठमाडौंमा अन्दोलन गरिरहेका मिटरब्याज पीडितले समिति गठन गरेका छन्।

वार्ताका लागि उनीहरुले आइतबार १९ सदस्यीय वार्ता समिति गठन गरेको किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले जानकारी दिए।

उनले गृहमन्त्रीसँग सम्वाद गर्न खोजिरहेकाले आजै वार्ता हुने सम्भावना रहेको बताए।

२० चैतदेखि काठमाडौंमा आन्दोलन गरिरहेका मिटरब्याज पीडितसँग वार्ता गर्न गृहमन्त्रालयले शुक्रबार मात्र पाँचसदस्यीय समिति गठन गरेको थियो।

गृहमन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजक रहेको समितिमा गृहकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र प्रहरी उपरीक्षक दिनेशराज मैनाली छन्।

दुई साताअघि मात्र मिटरब्याज पीडितको एक टोलीसँग सरकारले १८ चैतमा पाँचबुँदे सहमति गरेको थियो । त्यो टोली फर्किएलगत्तै मिटरब्याज पीडितकै अर्को एक टोली काठमाडौंमा प्रदर्शन गरिरहेको छ। अहिले अन्दोलन गरिरहेको समूहले अघिल्लो समूहसँग गरेको सहमतिलाई अपुरो भनेको छ।

उनीहरुले मिटरब्याज पीडितका नाममा जारी भएका पक्राउ पुर्जी खारेज गर्नुपर्ने, जेल चलान भएकाको रिहाइ गर्नुपर्ने, मिटरब्याजसँग जोडिएका चेक बाउन्स मुद्दा खारेज गर्नुपर्ने र मिटरब्याजीको सम्पत्ति छानबिन गर्नुपर्ने माग पनि पीडितहरुले राखेका छन् ।

प्रकाशित मिति: ११:४७ बजे, आइतबार, चैत २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्