डा. अधिकारीका तीन पुस्तक नयाँ वर्षलाई उपहार
काठमाडौंको पेप्सीकोलास्थित अक्षरा स्कुलमा शुक्रबार आयोजित विशेष कार्यक्रममा संस्कृतिविद् डा.गोविन्द टन्डन, साहित्यकार डा. तुलसी भट्टराई र प्रमुख निर्वाचन आयुक्त एवम् साहित्यकार दिनेश थपलियाले पुस्तक लोकार्पण गरे। साथै तीनै जना वक्ताले उल्लिखित तीन फरकफरक पुस्तकमा आआफ्ना धारणा राखे।
काठमाडौं, चैत २५ : जीवनशैली, वैज्ञानिक अध्यात्म तथा योग प्रशिक्षक डा. राजु अधिकारीद्वारा लिखित तीन पुस्तक– ‘परिवार सुख’, ‘संस्कारी बन्ने काइदा’ र ‘हजुरलाई विशेष उपहार’ एकसाथ लोकार्पण गरिएको छ। काठमाडौंको पेप्सीकोलास्थित अक्षरा स्कुलमा शुक्रबार आयोजित विशेष कार्यक्रममा संस्कृतिविद् डा.गोविन्द टन्डन, साहित्यकार डा.तुलसी भट्टराई र प्रमुख निर्वाचन आयुक्त एवम् साहित्यकार दिनेश थपलियाले पुस्तक लोकार्पण गरे। साथै तीनै जना वक्ताले उल्लिखित तीन फरकफरक पुस्तकमा आआफ्ना धारणा राखे।
कार्यक्रममा डा. गोविन्द डन्टनले अधिकारीको पुस्तक ‘संस्कारी बन्ने काइदा’माथि आफ्ना विचार राखे। यो पुस्तक अहिलेको समयमा अति नै सान्दर्भिक रहेको उनको भनाइ छ। ‘किनभने हामीले आफ्नो संस्कृति अनि धर्म–परम्परा बिर्संंदै गएका छौं,’ उनी भन्छन्, ‘यसमा राज्यले पनि ध्यान दिएको छैन। अहिलेको शिक्षाले सूचना त दिएको छ। यसले मानिसलाई सफल पनि बनाउला। तर असल बनाउँदैन। अधिकारीजीको ‘संस्कारी बन्ने काइदा’ले सफल मात्र होइन, मानिसलाई असल पनि बनाउँछ।’
तसर्थ यो पुस्तक विद्यालय तह एवं उच्च शिक्षामा पनि पाठ्यपुस्तकका रुपमा राखेर विद्यार्थीहरूलाई असल बनाउनुपर्ने उनको भनाइ छ। ‘म त भन्छु, डा. राजु अधिकारीले प्रयोग गरेको जुन मोडल छ, त्यसलाई हाम्रा विद्यालयहरूमा लागु गर्न सके अति राम्रो हुन्थ्यो। यस पुस्तकले मानिसलाई फाइदै फाइदा दिन्छ। हामी केटाकेटी बिग्रिए मात्र भनिरहेका छौं। यो पुस्तक पठाउनुस्, सप्रिन्छन्, असल पनि बन्छन्,’ डा. टन्डनले भने।
यसैगरी प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अधिकारीको पुस्तक ‘हजुरलाई विशेष उपहार’बारे समीक्षा गरे। पुस्तक पढ्दै गर्दा उपहार होस् त यस्तो भन्ने अनुभूति हुने उनले बताए। कुनै पनि उपहारको मूल्य त्यसको उपयोगितामा निहित हुने र बाहिरी आवरणमा मात्र ध्यान दिन नहुनेमा पुस्तकले जोड दिएको थपलियाको भनाइ छ। ‘तर हामी देखावटी अर्थात् चिरिच्याट्ट परेको उपहारमा मात्र सीमित छौं,’ थपलियाले भने, ‘डा. अधिकारीजीको पुस्तक ‘हजुरलाई विशेष उपहार’ले साजसज्जामा मात्र ध्यान केन्द्रित गरिरहेको समाजलाई गतिलो सुझाव छ। यो सबैका लागि बहुउपयोगी छ।’
कार्यक्रममा साहित्यकार डा. तुलसी भट्टराईले अधिकारीको पुस्तक ‘परिवार सुख’को समीक्षा गरे। पछिल्लो समय परिवारमा आइरहेको बेमेलले समाजलाई भड्खालोतिर लगिरहेको अवस्थामा अधिकारीको यस पुस्तकले आदर्श परिवार निर्माणमा सघाउ पुग्ने उनको भनाइ छ। ‘पारिवारिक सुखलाई प्राथमिकता दिइएर लेखिएको यो पुस्तक साँच्चिकै उदाहरणीय छ,’ उनले भने, ‘झनै अहिलेका प्रत्येक व्यक्तिले यो पुस्तकबाट प्रशस्त फाइदा लिन सक्छन्। र आफ्नो जीवन सफल तुल्याउन सक्छन्।’
यस्तै, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय हरेक क्षेत्रमा संस्कार हराउँदै गएको बेला यस्तो पुस्तक आउनु महत्वपूर्ण भएको बताए । उनले विश्वले नेपाल चिने पनि नेपालीले नेपाल चिन्न नसकेको भन्दै दुःख व्यक्त गरे । उनले व्यवहारिक, संस्कारिक शिक्षा कमजोर बन्दै गएकाले यसलाई सबै एकजुट भएर सुधार गर्नुपर्ने बताए । यसका लागि मिडियाको विशेष भूभिका रहने बताउँदै आफूले गर्ने सहयोग र पहल गर्ने प्रतिबद्धता जनाए ।
डा. अधिकारीका कृति र उनका कार्यक्रम नेपाली समाजको वर्तमान पुस्ताका निम्ति उपयोगी रहेको उनले बताए। ‘उपयोगी यस अर्थमा— हाम्रा प्राचीन एवम् पूर्वीय धारणालाई पाश्चात्य दार्शनिकका धारणासँग मेल गराएर र उदाहरणसहित देखाएर डा. अधिकारीले नेपाली समाजका लागि सुहाउँदो समाग्री तयार गरेको भट्टराईको भनाइ छ। ‘परिवार केवल घर र त्यहाँ बस्ने मान्छे मात्र होइन, पुस्तापुस्ता र अन्य सम्बन्धहरुबीच राम्रो सम्बन्ध भएन भने त्यो परिवार परिवार रहन्न। यस परिवारलाई सुखी र खुसी बनाउन ‘परिवार सुख’ पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्छ,’ उनले भने।
कार्यक्रममा लेखक डा.राजु अधिकारीले लोकार्पित किताबहरूमा एउटाले भित्री जीवनलाई सिँगार्ने, अर्काेले बाहिरी जीवन सिँगार्ने र तेस्रोले सबैले सबैलाई जोड्ने अर्थात् आफूले अरुसँग जोड्ने काम गर्छन्। ‘परिवार सुख आजको सबैको ठूलो चाहना हो,’ उनले भने, ‘त्यसलाई सम्बोधन गर्न मैले ‘परिवार सुख’ पुस्तक लेखें। संस्कारको खडेरीलाई थोरै शान्त गर्न ‘संस्कारी बन्ने काइदा’ लेखेको हुँ। र कालजयी उपहार अर्थात् स्थायी उपहार दिन सजिलो होस् भनेर ‘हजुरलाई विशेष उपहार’ पुस्तक लेखें।’ यी पुस्तकले समग्रमा समाजकै हितका लागि आवाज मुखरित गरेको उनको भनाइ छ।
को हुन् डा. राजु अधिकारी ?
जीवनशैली, वैज्ञानिक अध्यात्म तथा योग प्रशिक्षण, पुस्तक लेखन एवम् वातावरण संरक्षणका क्षेत्रमा परिचित नाम हो, डा. राजु अधिकारी। भारतको हरिद्वारस्थित देव संस्कृति विश्वविद्यालयबाट योग विज्ञान एवम् मानव चेतना विषयमा स्नातकोत्तर र विद्यावारिधि गरेका अधिकारी नेपाल, भारत र अमेरिकामा ‘मोटिभेसनल ट्रेनर’ तथा ‘लाइफ कोच’को भूमिकामा रमाइरहेका छन्।

खाने कसरी पिउने कसरी, योग पनि गरौं भोग पनि गरौं, यस्तो होस् जीवनशैली, आखिर रोज्ने के ?, तपाईंका लागि योग, जिन्दगी रिल्याक्स प्लिज !, संस्कारी बन्ने काइदा, परिवार सुख, हजुरलाई विशेष उपहार, विवाहअगाडि विवाहपछाडि, बालबालिका र योगाभ्यास, सुयोग्य सन्तति, नैतिक सुखवाद र जीवन मूल्यहरू पुस्तक प्रकाशन गरिसकेका अधिकारी वाग्मती सफाइ महाअभियानका अवधारणाकारसमेत हुन्।
राष्ट्रिय युवा प्रतिभा पुरस्कार र भागीरथी पुरस्कार (भारत)बाट सम्मानित अधिकारीले भारतका पूर्वराष्ट्रपति एपिजे अब्दुल कलामबाट योेग विज्ञान विषयमा स्वर्णपदकसमेत पाएका छन्। ध्यान, यात्रा, स्वयम्सेवा, लेखन र आन्तरिक खोजमा रमाउनु अधिकारीका दैनिकी हुन्।












