रामजानकी मन्दिर अतिक्रमणविरुद्ध वीरगञ्जमा चल्यो डोजर
वडा नं. १० स्थित रामजानकी मन्दिरको ऐतिहासिक एवम् पुरातात्विक महत्वको जग्गामा भएको अतिक्रमण हटाउन शनिबार महानगरले डोजर चलाएको हो।
वीरगञ्ज, चैत २५ : वीरगञ्जको घडीअर्वास्थित रामजानकी मन्दिरको जग्गामा भएको अतिक्रमण हटाउन महानगरले शनिवार दिउँसो डोजर चलाएको छ।
वडा नं. १० स्थित रामजानकी मन्दिरको ऐतिहासिक एवम् पुरातात्विक महत्वको जग्गामा भएको अतिक्रमण हटाउन शनिबार महानगरले डोजर चलाएको हो।
तीन दशकभन्दा बढी समयदेखि मन्दिर प्रवेशमा समेत रोक लगाएर जग्गा अतिक्रमण गरिएको, अतिक्रमित जग्गामा पक्की संरचना निर्माण गरिएको तथा मन्दिरका पूजारी शम्भुनाथ तिवारीले एकलौटी भाडा असुली गर्दै आएकोलगायत गुनासो स्थानिय बासिन्दाबाट आएपछि महानगर कारवाहीमा उत्रेको हो ।
१९८२ सालदेखि रामजानकी मन्दिरको नाममा रहेको जग्गामा पूजारी तिवारीले तीनतिरै पक्की संरचना बनाएर भाडामा लगाएको उजुरी थियो।
मठमन्दिर तथा सार्वजनिक, ऐलानी जग्गा खोजी अभियान अन्र्तगत मन्दिरको जमिन अतिक्रमण गरेर बनाइएको संरचना भत्काइएको महानगरले जनाएको छ । अतिक्रमण हटाउन नगर प्रमुख राजेशमान सिंह आफै घडिअर्वा पुगेका थिए।
मन्दिरको जग्गामा डोजर लगाउन नदिन मागसहित पुजारी तिवारीले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा रिट निवेदन दिएका थिए उक्त रिटमा माग वमोजिम अन्तरिम आदेश नभएपछि महानगरले डोजर लगाएर अतिक्रमित संरचना हटाएको जनाइएको छ।
गत फागुन ४ गते अदालतको एकल इजलासबाट पूजारी तिवारीकै पक्षमा अन्तरिम आदेश जारी भए पनि महानगरपालिकाको ‘भ्याकेट’ निवेदनपछि शुक्रबार अवैध संरचना हटाउन बाटो खुला गरिदिएको थियो।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्ता सेढाईं सापकोटाको संयुक्त इजलासले महानगरकै पक्षमा आदेश दिएपछि डोजर लगाइएको हो । महानगरले सबै अवैध संरचना हटाएर दैनिक पूजापाठ हुने गरि संचालनमा ल्याउने भएको छ।











