ओलीले भने– महिलाले गर्दा नै एमाले बलियो छ
अखिल नेपाल महिला संघ (अनेमसंघ)को सातौँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै ओलीले महिला दिदीबहिनीको निष्ठाले गर्दा एमाले अरु पार्टीभन्दा बलियो भएर उठेको दाबी गरे।
काठमाडाैं, चैत २५ : एमाले अध्यक्ष केपी शर्मा ओलीले महिला दिदीबहिनीले गर्दा एमाले बलियो भएको बताएका छन्।
अखिल नेपाल महिला संघ (अनेमसंघ)को सातौँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै ओलीले महिला दिदीबहिनीको निष्ठाले गर्दा एमाले अरु पार्टीभन्दा बलियो भएर उठेको दाबी गरे।
उनले महिला दिदी–बहिनीले पार्टीलाई विभिन्न चक्रब्यूहबाट जोगाएको समेत उल्लेख गरे। उनले भने, ‘महिलाहरू तरबार हुन्, एमालेविरुद्ध कसैले तरबार चलायो भने ढाल बनेर महिलाले छेकेका छन् ।’
महिला दिदीबहिनीको योगदानले नै एमाले सुरक्षित भएर जोगिएर फेरि देशको प्रमुख पार्टीको हैसियतमा उभिएको ओलीले बताए।
एमाले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई महिला दिदी–बहिनीले प्रभावकारी, अनुसाशित र गतिशीलरूपमा अगाडि बढाएको समेत बताए। उनले महिला अगाडि उभिएकाले एमालेलाई कसैले पनि हल्लाउन नसक्ने बताए।
अस्तव्यस्त पार्न थालिएको एमालेको सङ्गठनलाई बलियो र खदिलो बनाएर अगाडि बढाइएको भन्दै उनले पुराना पुस्ताले पार्टीमा नयाँ पुस्ता जोडिँदै जानुपर्ने बताए। नेपालको महिला आन्दोलन जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सफलतापूर्वक अगाडि बढेको उनको धारणा थियो।











