अहिले एमालेमा कुनै पनि गुटबन्दी छैन : ओली
सो अवसरमा उनले एमाले देशको प्रमुख शक्ति भएको दाबीसमेत गरे।
काठमाडौं, चैत २५ : एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीभित्र अहिले कुनै पनि गुटबन्दी नभएको बताएका छन्।
अखिल नेपाल महिला संघ (अनेमसंघ) को आज (शनिबार) काठमाडौंमा सुरु भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न नेताकार्यकर्तालाई सचेत गराए।
‘आजको एमालेभित्र कुनै पनि किसिमको गुटबन्दी छैन। त्यहाँ प्रतिपक्ष छैन। सब एकजुट छ। स्वार्थका लागि कसैले यस्तोउस्तो नभन्नुस्। हुन्छ निःस्वार्थका लागि यसो ग्रुप बनाएझैं । खेल्न खोजेझैं त्यस्तो खालको नगर्नुहोला,’ ओलीले भने, ‘एकछिन स्वार्थ पूरा भएन भने पनि केही फरक पर्दैन। संगठन एकजुट हुनुपर्दछ। योग्यता, क्षमता, कामलाई हेरेर जिम्मेवारी दिन्छौं। यसमा तलमाथि हुँदैन।’
सो अवसरमा उनले एमाले देशको प्रमुख शक्ति भएको दाबीसमेत गरे। एमालेलाई जोगाउन र बलियो बनाउन महिला दिदीबहिनीहरुको पनि ठुलो भूमिका रहेको चर्चा उनले गरे। ‘दुनियाँ लागेर, घेरेर, छेकेर, चक्रव्यूहमा पारेर पार्टीलाई समाप्त पार्न खोज्दा पनि समाप्त हुन नदिएर, कसैले एमाले विरुद्ध तरबार चलायो भने महिला दिदीबहिनीले ढाल बनेर छेकेका छन्,’ उनले भने।
उनले अनेमसंघले आफ्नो संगठनकी पूर्वअध्यक्ष विद्या भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्न लायक काम गरेको पनि बताए। ओलीले अखिल नेपाल महिला संघले पनि ‘समृद्ध नेपालः सुखी नेपाली’ बनाउने पार्टीको उद्देश्य प्राप्त हुने गरी आफ्नो संगठनलाई चलायमान बनाउनुपर्ने बताए।











