मुकुन्द न्यौपानेद्वारा नेकपा एस परित्याग
पार्टी त्याग्न लागेको हल्ला शुक्रबार नै चले पनि आज (शनिबार) एक विज्ञप्ति जारी गरेर उनले पार्टी परित्यागको घोषणा गरेका हुन्।
काठमाडौं, चैत २५ : आफूले राखेको फरक मतबारे पार्टीमा छलफल नभएको भन्दै नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन्।
पार्टी त्याग्न लागेको हल्ला शुक्रबार नै चले पनि आज (शनिबार) एक विज्ञप्ति जारी गरेर उनले पार्टी परित्यागको घोषणा गरेका हुन्। आफूले केन्द्रीय कमिटी बैठकमा ३३ बुँदे फरक मत राखे पनि हालसम्म त्यसलाई एजेन्डाका रूपमा प्रस्तुत नगरिएको स्पष्ट पार्दै उनले पार्टीको सदस्य भएर बस्नुभन्दा देशको असल नागरिक भएर बस्नु उचित हुने विज्ञप्तिमा उल्लेख गरेका छन्।
‘लेनिनले १९१७ मा भनेका वाक्य स्मरण गर्दै भविष्य नभएको पार्टीको नेता हुन भन्दा सम्मानित नागरिक भएर जिउनु जीवनका लागि महत्वपूर्ण कुरा हो भन्ने अभिशावलाई आत्मसात गर्दै म आजका मिति २०७९ चैत २५ गतेदेखि यस पार्टीको साधारण सदस्यसमेत तथा सम्पुर्ण पार्टी जिम्मेवारी परित्याग गरेको घोषणा गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।
‘मैले मिति २०७९ माघ २१ र २२ को केन्द्रीय कमिटीको बैठकमा आफ्नो धारणा सहित ३३ बुँदे फरक मत राखि छलफलको लागि माग गरेको थिए। हालसम्म कुनै पनि छलफल नभएकाले सो पार्टीमा म जस्तो विगत ५४ वर्षको राजनीतिक जीवनमा यात्रा गरेको कम्युनिष्ट कार्यकर्ता विधि, प्रक्रिया र सांगठनिक ढाँचाअनुरुप पार्टीको सदस्य भएर बस्नुभन्दा देशको असल नागरिक भएर बस्नु उचित हुनेछ,’ विज्ञप्तिमा भनिएको छ।
अब कुन पार्टीमा जाने भन्ने उनले खुलाएका छैनन्। तर उनकाे अबकाे राजनीतिक यात्रा एमालेबाट हुने चर्चा छ।
यस्तो छ विज्ञप्तिको पूर्ण पाठः
आदरणीय पत्रकार मित्रहरु हार्दिक अविवादन।
म मुकुन्द नेउपाने भोजपुर जिल्ला गोगने मा मिति २००७ साल जेष्ठ २२ गते बाबु लिलानाथ न्यौपाने र माता विष्णुमाया न्यौपाने वाट जन्म भएको थियो।
नेपालमा २०२६ सालमा सुस्ता महेशपुर, कालापानी लगायत नेपालको भुभागमा भारतिय बम अतिक्रमण विरुद्व राष्ट्रियताको आवाज उठाउँदै मेरो सक्रिय राजनिति शुरु भएको हो। जुन समयमा राष्ट्र र राष्ट्रियता केबल कम्युनिष्टले मात्र गर्न सक्छ भन्ने विश्वासका साथ २०२८ सालदेखि गरिब, निमुखा, सामाजिक तथा सास्कृतिक अत्याचारको विरुद्वमा पञ्चायती सत्ता परिवर्तन गर्न म भुमिगत भएर २०३२ साल जेष्ठ २८ गते सीपी मैनालिको अध्यक्षयतामा कोअर्डिनेशन केन्द्र निर्माण गरि सदस्यहरु माधव कुमार नेपाल, झलनाथ खनाल, अमृत बोहरा, मुकुन्द न्यौपाने, मणिलाल राई, गोविन्द न्यौपाने आदि लगायत ८ जना बाट पार्टी निर्माण गरियो र म केन्दीय कमिटिको तर्फबाट नारायणी इन्चार्ज भई पार्टी निर्माणमा भुमिगत रहि अगाडि बढीरहे। २०३४ सालमा पुष्पलाल श्रेष्ठको मुक्तीमोर्चा समुहको नेतृत्व गरेर मोदनाथ प्रश्रीत, मदन भण्डारी र जिवराज आश्रीत सहितको ठुलो समुह कोर्डिनेशन केन्द्रमा सामेल भई २०३५ साल पुष ११ गते नेपाल कम्यूनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) गठन भयो। सो पार्टीको कन्द्रीय सदस्यको जिम्मेवारिका साथ पार्टी निर्माणमा सक्रियताका साथ राजनितिक यात्रा अगाडि बढिरहयो।
२०४७ सालमा मदन भण्डारीले नेतृत्व गरेको ने क पा (माले) र मनमोहन अधिकारीले नेतृत्व गरेको नेकपा ९माक्र्सवादी० मिलेर ने क पा (एमाले) निर्माण भयो। सो समय देखि पार्टी सङ्गठन र संसदिय राजनितिमा २०४८ साल तत्कालीन बारा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य विजयी हुदै २०५४ मा श्रम मन्त्रीको जिम्मेवारी प्राप्त गर्दै नेकपा एमाले पार्टीको स्थायी कमिटिको भूमिका निर्वाह गर्दै २०७४ सालमा नेकपा निर्माण हुँदासमेत म सक्रियताका साथ लाग्दै आएको अवगतै छ। त्यसपछि नेपालको राजनिति उतारचढाब बाट पार्टी विभाजन भई म ने क पा ९एकिकृत समाजवादी० को नेता हुदै विभिन्न जिम्मेवारीका साथ कार्यरत थिए।
नेकपा एकीकृत समाजवादी निर्माण गर्दा नेपाली कम्यूष्टि आन्दोलनको निष्ठा र वैज्ञानिक कम्प्यूष्टि पद्धति, प्रक्रीयाका साथ नेपाली गरिब, निमुखा, झुटा आश्वासन, लोकतान्त्रिक गणतन्त्रको पद्धतिकमा निराश भएका बेरोजगारी युवा, महिला तथा जेष्ठ नागरिक, विधार्थीहरुको वैकल्पीक कम्युनिष्ट पार्टीको रुपमा रुपान्तरण हुनेछ भन्ने विश्वास र अठोटका साथ म यो पार्टीमा लागेको हुँ। राष्ट्र राष्ट्रीयताको पक्षमा वकालत गरी एक्काइसौ सताब्दीको समाजबादी वैज्ञानिक कम्यूनिष्ट पार्टीको परिकल्पनामा म नेकपा एकिकृत समाजवादी पार्टीमा जिम्मेवारी लियेरसो समयमा सत्ता गठबन्धनको सिमसार दलदलमा, पार्टी पद्धति र प्रक्रीया विपरित दलमा नेताहरु फसे र पार्टीका बैठकमा छलफल, सरसल्लाह नगरी कोठे राजनितिको चंगुलमा पार्टी नेतृत्व फस्यो। पार्टीको निति र विधि विपरित बिद्रोह गरेर बनेको पार्टी भित्र प्रक्रिया र पद्दतिलाई अनुसरण गर्दै व्यवस्थित मर्यादित होला भन्ने ठानेको थिएँ। त्यसैले स्थानिय निर्वाचन देखि प्रदेश र प्रतिनिधि सभा निर्वाचन सम्म आउदा नेकपा एकिकृत समाजवादीले परिचय दियो तर पहिचान दिएन, सदैव आआफ्नो स्वार्थमा निहित भएको आभास मलाई लाग्यो।
विचार र दर्शनको धारलाई भुत्ते पारेर परिवर्तनको द्वन्दात्मक भौतिकवादी दर्शनको धार बाट अलगथलग भई बस्तुगत परिस्थितिको ठोस विश्लेषण नै नगरी मार्क्सवादका दुइचार शब्दहरु अगाडि सारेर अवस्तुवादी आत्मगत चिन्तनमा आधारित शास्त्रीय आख्यान पिलाउदै हिड्नु भनेको आफूलाई पिंध नभएको बाल्टीमा परिणत गर्नु हो। जतिपटक ईनारमा डुबाएर तानेपनि माथि आउँदा रितै हुन्छ। आज नेकपा एकिर्कत समाजवादीका नेतृत्व पंक्तिका कतिपय नेता र तलका कमिटिका कतिपय कार्यकर्ताको हालत यस्तै छ। सांसदको लागि झगडा गर्ने सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने जति खाए पनि नअघाउने जति भरे पनि नभरिने।
मैले मिति २०७९ माघ २१ र २२ को केन्द्रीय कमिटिको बैठकमा आफ्नो धारणा सहित ३३ बुँदे फरक मत राखी छलफलको लागि माग गरेको थिए। हालसम्म कुनै पनि छलफल नभएकोले सो पार्टीमा म जस्तो विगत ५४ वर्षको राजनितिक जीवनमा यात्रा गरेको कम्यूनिष्ट कार्यकर्ता विधि, प्रक्रीया र सांगठनिक ढाँचा अनुरुप पार्टीको सदस्य भएर बस्नु भन्दा देशको असल नागरिक भएर बस्नु उचित हुनेछ भन्ने सोचका साथ लेनिनले १९१७ मा भनेका वाक्य स्मरण गर्दै भविष्य नभएको पार्टीको नेता हुन भन्दा सम्मानित नागरीक भएर जिउनु जिवनको लागि महत्वपुर्ण कुरा हो भन्ने अभिशाबलाई आत्मसाथ गर्दै म आजका मिति २०७९ साल चैत्र २५ गतेका दिन देखि यस पार्टीको साधारण सदस्य समेत तथा सम्पुर्ण पार्टी जिम्मेवारी परित्याग गरेको घोषणा गर्दछु। मेरो जिम्मेवारीमा साथ दिने असल कार्यकर्ता तथा संगठनका सदस्यहरुलाई म धन्यवाद दिन चाहन्छु।
मुकुन्द नेउपाने अगले
२०७९ चैत्र २५











