Kathmandu Press

६४ वर्षअघिको गीतलाई दुई सातामै ६४ हजार भ्युज

म्हम्ह एभेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएयता उक्त गीति भिडियोले ६४ हजार भ्युज पाइसकेको छ, राम्राराम्रा प्रतिक्रियाहरू पनि आइरहेका छन्।
६४ वर्षअघिको गीतलाई दुई सातामै ६४ हजार भ्युज

काठमाडौं, चैत २५ : दरबार हाई स्कुलका तत्कालीन प्रिन्सिपल संस्कृतिविद् सुवर्ण शाक्यद्वारा ६४ वर्षअघि रचित नेपाल भाषाको गीत रेकर्ड भई भिडियोसहित सार्वजनिक गरिएको छ। 

न्ह्यु बज्राचार्यको संगीत, निशा देशारको आवाज र गोपाल रसाइलीको संगीत संयोजनमा पाँच महिनाअघि रेकर्ड गीतको म्युजिक भिडियो दुई साताअघि मोतीहर्ष फाउन्डेसनद्वारा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।

म्हम्ह एभेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएयता उक्त गीति भिडियोले ६४ हजार भ्युज पाइसकेको छ, राम्राराम्रा प्रतिक्रियाहरू पनि आइरहेका छन्।    

Hardik ivf

गीति भिडियोको निर्देशन सुजन बज्राचार्य ‘खोपे’ले गरेका हुन्। लुभु वेभ स्टुडियोका केबीएस (कृष्णभक्त श्रेष्ठ) लुभुले गीतलाई पटकथामा उतारेका हुन्। जसमा शैलेश श्रेष्ठको छायांकन र सम्पादन कौशल देख्न सकिन्छ। 

पछिल्लो समय नेपाल भाषा म्युजिक भिडियो फाँटमा उदाएका मनोज महर्जन र नेरिशा महर्जन ‘मछालेगु बानी गनं वल’मा मुख्य र विशेष भूमिकामा रवि डंगोल ‘बेइमान’ देखिएका छन्।

‘मछालेगु बानी गनं वल’ अर्थात् ‘लजाउने बानी कहाँबाट आयो?’ गीतले किशोरावस्थाको मनोदशालाई उजागर गरेको छ। यो उमेरमा हुने कौतूहलतालाई गीतकार शाक्यले शब्दहरूमा व्यक्त गरेका छन्। किशोरावस्थाका बेला एउटी युवतीभित्रको बालापन, शृंगारपटारप्रति आकर्षण तर आफ्नै जवानीप्रतिको अनभिज्ञता गीतकारले दर्शाउन खोजेका छन्।

तत्कालीन समय काठमाडौंका डबलीमा देखाइने ‘दबुं प्याखं’ अर्थात् ‘डबली नाटक’मा निकै लोकप्रिय गीत पुराना पुस्ताका जनजिब्रोबाट अझै पनि सुन्न सकिन्छ। ऐतिहासिक गीत संरक्षण गर्ने उद्देश्यले सुनीलकुमार शाक्यले ६४ वर्ष पुरानो रचनालाई आवाज र भिडियोमा कैद गरेका हुन्। 

‘हाम्रो पुराना कला, संस्कृति, परम्परा र सम्पदा बिस्तारै लोप हुँदैछन्, बाबुबाजेका पालाका गीत संरक्षण गर्नुपर्छ भन्ने लागेरै मैले यो अभियान थालनी गरेको हुँ,’ मोतीहर्ष फाउन्डेसनका संस्थापक अध्यक्षसमेत रहेका शाक्य भन्छन्, ‘झन्डै दर्जनभन्दा बढी यस्ता ऐतिहासिक गीत छन्, जसको संरक्षण गर्न अति जरुरी भइसकेको छ।’

प्रकाशित मिति: १३:३९ बजे, शनिबार, चैत २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्