अब काठमाडौंका पर्यटकीय स्थलमा निःशुल्क वाईफाई
काठमाडौं, माघ ९ : नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी काठमाडौंका विभिन्न पर्यटकीय स्थलमा चौबिसै घन्टा निःशुल्क वाईफाई प्रयोग गर्न पाइने भएको छ। काठमा....

काठमाडौं, माघ ९ : नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी काठमाडौंका विभिन्न पर्यटकीय स्थलमा चौबिसै घन्टा निःशुल्क वाईफाई प्रयोग गर्न पाइने भएको छ। काठमाडौं महानगरपालिकाले वर्ल्डलिंकसँगको सहकार्यमा निःशुल्क वाईफाईको व्यवस्था गर्न लागेको हो।
यसअघि पनि पर्यटकीय स्थलमा इन्टरनेट सेवा सुरू गरेको थियो। तर केही स्थानमा मात्रै संचालनमा आएको थियो। अब भने पर्यटकलाई सहजताका लागि सबै पर्यटकीय स्थलमा वाईफाईको व्यवस्था गर्न लागेको महानगरले जनाएको छ।
काठमाडौ महानगरपालिकाले इन्टरनेट सेवा प्रदान गरिरहेको कम्पनी वर्ल्डलिंक कम्युनिकेसनसँगको सहकार्यमा निःशुल्क वाईफाई सेवा दिने तयारी गरेको छ। अबको केही दिनभित्रै विभिन्न स्थानमा वर्ल्डलिकंले इन्टरनेट सेवा विस्तार गर्ने महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए।
चावहिलको बौद्ध स्तुप, शंखमुलको शंखपार्क, बानेश्वरको छक्कुबक्कु पार्कलगायतका क्षेत्रमा वाईफाई सेवा प्रदान गर्ने तयारी भइरहेको छ। त्यस्तै, बसन्तपुर, बौद्ध, हनुमानढोका, पशुपति मन्दिर परिसर, बालाजु बाइसधारा पार्क, शंकधर पार्क, स्वयम्भूनाथ क्षेत्रमा मर्मतसम्भार गर्ने र चौविसै घन्टा वाईफाई सेवा प्रदान गरिने उनले बताए।
‘अहिलेको अवस्थामा इन्टरनेट मानिसको अतिआवश्यक कुरा भइसकेको छ। यसको आवश्यकता बुझेर विस्तारै अन्य स्थानमा पनि बिस्तार गर्ने योजना रहेको छ,’ डंगोलले भने। यसका लागि महानगरका मेयर विद्यासुन्दर शाक्य र वर्ल्डलिंकका निर्देशक विजयकुमार जलानबीच सहमति भएको छ।
केही दिनमै नयाँ ठाउँमा राखिने र भएका ठाउँमा मर्मत गरिने छ भने त्यसमा लाग्ने लगानी सबै वर्ल्डलिंकले नै गर्नेछ। इन्टरनेट जडान प्रयोगकर्ताको न्यूनतम संख्यालाई आधारित मानेर हरेक ठाउँअनुसार जडान गर्ने तयारी भइरहेको उनले बताए।
हरेक क्षेत्रमा पर्यटक अगामनको संख्या फरक हुने भएकाले त्यहीअनुसार, इन्टरनेट जडान हुने भएको छ। बौद्ध क्षेत्रमा एकपटकमा दुई सयदेखि पाँच सय, बसन्तपुर र स्वयम्भुमा दुई सयदेखि तीन सय, बाइसधारामा दुई सयदेखि सात सय, शंकमुलपार्कमा ५० देखि दुई सय र पशुपति क्षेत्रमा दुई सयदेखि सात सय जनाले एकै पटक इन्टरनेट प्रयोग गर्न सक्नेछन्। यी सबै ठाउँमा जडानपछि अन्य ठाउँमा पनि जडान गरिने छ।











-(32)-1764944804.jpeg)
