निगमको व्यवस्थापकीय संरचना अध्ययन गर्न समिति गठन
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षमा गठन गरिएको समितिमा क्याप्टेन ओम गुरुङ, सञ्चारकर्मी टिकाराम राई, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट पियुस आनन्द र सहारा न्यौपाने सदस्य छन्।
काठमाडौं, चैत २४ : सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न समिति गठन गरेको छ।
सरकारले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा क्याप्टेन ओम गुरुङ, सञ्चारकर्मी टिकाराम राई, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट पियुस आनन्द र सहारा न्यौपाने छन्।
निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गरी सिफारिस गर्न अध्ययन समितिले अध्ययन प्रतिवेदन तयारी गरी मन्त्रालयमा पेश गर्नेछ । आर्थिक रुपमा निकै कमजोर अवस्थामा पुगेको निगमले जहाज खरिदबापतको झण्डै ५० अर्ब ऋणभार बहन गरिरहेको छ।
बजार विस्तार र व्यवसायिक योजना ल्याउन नसक्दा निगमले व्यवसायिक सफलता हासिल गर्न सकेको छैन । पर्याप्त जहाज नहुँदा अन्तर्राष्ट्रिय गन्तव्य विस्तार र बजारीकरण प्रभावकारी हुनसकेको छैन।
निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाईडबडी ए ३३० र दुई थान न्यारोबडी ए३२० जहाज छन्। आन्तरिक उडानमा मात्र दुई थान ट्वीनअटर जहाज छन्।











