मिटरब्याज पीडितका माग सम्बाेधन गर्न वार्ता समिति गठन
सरकारले गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा शुक्रबार वार्ता समिति गठन गरेको हो।
काठमाडौं, चैत २४ : सरकारले मिटरब्याज पीडितसँग वार्ता समिति गठन गरेको छ।
सरकारले गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा शुक्रबार वार्ता समिति गठन गरेको हो।
पाँच सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जङ्गबहादुर डाँगी तथा प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन् । समितिमा गृह मन्त्रालयका उपसचिव दीलकुमार तामाङ सदस्य सचिव छन्।
अघिल्लो साता नै सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाएको थियो ।
तर, ‘मिटरब्याज तथा ठगी विरुद्ध किसान–मजदुर सङ्घर्ष समिति’ले आन्दोलन जारीपछि उनीहरुको मागलाई समेट्ने गरी वार्ता समिति बनेको हो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पीडितका माग अविलम्ब सम्बोधन गर्न निर्देशन दिएका छन् । समितिले पीडितको समस्या समाधानका लागि तत्काल आवश्यक पहल थाल्ने छ।











