नेपाली नागरिकता लिने तिब्बती शरणार्थी पक्राउ
तिब्बतबाट भारत बिहार, दिल्ली हुँदै नेपाल आएर २ वर्षदेखि बौद्धको बुद्ध टुसाल क्याम्पमा बसोबास गर्दै आएकी उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
काठमाडाैं, चैत २४ : नेपाली नागरिकता लिएकी एक तिब्बती नागरिक पक्राउ परेकी छिन्।
२७ वर्षकी निमा ल्हामो गुरूङलाई प्रहरीले बिहीबार बौद्धबाट पक्राउ गरेको हो। उनलाई नेपाली नागरितासहित नै पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले बताए।
तिब्बतबाट भारत बिहार, दिल्ली हुँदै नेपाल आएर २ वर्षदेखि बौद्धको बुद्ध टुसाल क्याम्पमा बसोबास गर्दै आएकी उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। उनीबाट एक थान नागरिकता बरामद भएको प्रहरीले जनाएको छ।
उनले निमा ल्हामो गुरूङको नाममा ५ लाख रुपैयाँ तिरेर नागरिकता बनाउने कृष्णबहादुर कटुवाललगायतको गिरोहमार्फत नाागरिकता बनाएकी थिइन्।
उनले सरकारी कार्यालयहरूको कागजात, छाप तथा कर्मचारीको दस्तखत समेत किर्ते गरी झूटा लिखत तथा नक्कली सिफारिस तयार गरी नक्कली बुवा समेत खडा गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएको अनुसन्धानमा देखिएको उनले जानकारी दिए।
प्रहरीले नागरिकता ऐन तथा लिखतसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको बताएको छ।
यसअघि प्रहरीले तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाउन संलग्न कटुवालसहित ५ जनालाई पक्राउ गरेको थियो।











