रवि लामिछानेको मुद्दा विधि र प्रक्रियाबाटै टुंगो : महान्यायाधिवक्ता
महान्यायाधिवक्ताको जिम्मेवारी समालेको सय दिन पूरा गरेको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा डा.पोखरेलले यस्तो भनाइ राखेका हुन्। लामिछानेको मुद्दा प्रक्रियागत रुपमा अन्त्य भइसकेको पनि उनले बताए।
काठमाडौं, चैत २४ : महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी विवादमा विधि र प्रक्रिया अनुसारै मुद्दा नचल्ने निर्णय गरिएको बताएका छन्।
उनले मुद्दा नचलाउन कतैबाट दबाबमा नपरेको भनाइसमेत राखेका छन्। महान्यायाधिवक्ताको जिम्मेवारी समालेको सय दिन पूरा गरेको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा डा.पोखरेलले यस्तो भनाइ राखेका हुन्।
लामिछानेको मुद्दा प्रक्रियागत रुपमा अन्त्य भइसकेको पनि उनले बताए। डा.पोखरेलले भने, ‘प्रकियासम्मत रुपमा छानबिन टुंगिएको हो। राजनीतिक सौदावाजी र दवावमा टुंगिएको हैन। विधि र प्रक्रिया अनुसार नै मुद्दा नचल्ने निर्णय गरेको हो।’
महान्यायाधिवक्ता पोखरेलले राहदानी विवादमा सम्पूर्ण अनुसन्धान सकेर मात्रै फाइल पेस गर्न प्रहरीलाई भनिएको पनि बताए।
सोही अनुसार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गरेको र तह तह हुँदै अन्तिम निर्णयका लागि फाइल विभागमा आएको भनाइ उनको छ।











