Kathmandu Press

आफ्नो सट्टामा नक्कली परीक्षार्थीलाई एसइई दिन लगाउने मेयरविरुद्ध पक्राउ पुर्जी जारी

प्रहरीका अनुसार पक्राउ परेका साह रेडियो नेपालको बर्दिबास शाखामा पाचौं तहमा कार्यरत स्थायी कर्मचारी भएको खुल्न आएको छ। मेयर साहले नै आफूलाई परीक्षा दिन बोलाएको स्वीकार गरेका छन्।
आफ्नो सट्टामा नक्कली परीक्षार्थीलाई एसइई दिन लगाउने मेयरविरुद्ध पक्राउ पुर्जी जारी

रौतहट, चैत २४ : आफ्नो सट्टामा नक्कली परीक्षार्थी खडा गरी माध्यमिक  शिक्षा परीक्षा (एसइई) दिन लगाउने रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानूविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

उनको नामबाट मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ मावि परीक्षा केन्द्रमा एसइई दिइरहेको अवस्थामा गत आइतबार गरुडा नगरपालिका–६ पोठियाहीका कमल साह पक्राउ परेका थिए। साह पक्राउ परेको ६ दिनपछि आज (शुक्रबार) जिल्ला अदालत रौतहटले मेयर कानुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो।

अनुसन्धानका क्रममा प्रेमलाल साह कानूको नाम आएको र उनीमाथि पनि छानबिन गर्नु देखिएको हुँदा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

प्रहरीका अनुसार पक्राउ परेका साह रेडियो नेपालको बर्दिबास शाखामा पाचौं तहमा कार्यरत स्थायी कर्मचारी भएको खुल्न आएको छ। मेयर साहले नै आफूलाई परीक्षा दिन बोलाएको स्वीकार गरेका छन्।

शिक्षा ऐन २०२८ को दफा १७ मा नक्कली परीक्षार्थीबाट जाँच दिन लगाउने र दिने दुवैलाई ६ महिना कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ।

प्रकाशित मिति: १४:०१ बजे, शुक्रबार, चैत २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्