विदेशिने विद्यार्थी बढे, ८ महिनामा ८० हजारले लिए एनओसी
तथ्यांकअनुसार गत साउनदेखि चैत २२ गतेसम्म ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमतिपत्र (एनओसी) लिएका छन्।
काठमाडौं, चैत २४ : पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्न थालेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांकअनुसार गत साउनदेखि चैत २२ गतेसम्म ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमतिपत्र (एनओसी) लिएका छन्।
शाखाले एनओसीका लागि अनलाइन आवेदन दिने व्यवस्था मिलाएको छ। अनलाइनमा आवेदन आएको एक दिनमा रुजु गर्ने र अर्को दिन एनओसी दिन थालिएको छ।
बिहीबारमात्रै ६ सय ९ वटा अनलाइन आवेदन परेकामा ५ सय २९ आवेदन स्वीकृत भएको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव वासुदेव वस्तीले जानकारी दिए। उनका अनुसार आवेदन स्वीकृत भएका ५ सय आवेदकले आज एनओसी पत्र पाउनेछन्।
वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार वि.सं २०७८ को वैशाखमा १ हजार ६ सय ९६, जेठमा ४ सय ५६, असारमा ३ हजार १ सय ९, साउनमा ५ हजार ३ सय ४१ जनाले एनओसी लिएका छन्।
यस्तै, भदौमा ५ हजार ८ सय ६०, असोजमा ४ हजार ९ सय ६३, कात्तिकमा ३ हजार ७ सय ५७, मंसिरमा ५ हजार ६ सय ९५, पुसमा ७ हजार ८५, माघमा ९ हजार ५ सय १३, फागुनमा १३ हजार ९नौ सय ७२ र चैतमा १६ हजार तीन सय ४८ जनाले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमतिपत्र लिएका छन्।
यस वर्षको वैशाखमा १५ हजार सात सय ७१ र जेठमा १४ हजार छ सय १३ जनाले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमतिपत्र लिएका छन्। अध्ययनका लागि अष्ट्रेलिया, जापान, अमेरिका र क्यानडा जानेको सङ्ख्या बढी छ । हाल औसतमा दैनिक छ सय जनाले वैदेशिक अध्ययन अनुमतिपत्रका लागि आवेदन दिइरहेको शाखाले जनाएको छ।
अनलाइनबाट आवेदन दिने, रुजु गर्ने र एनओसी पाउने समय सम्बन्धित विद्यार्थीलाई जानकारी गराउन थालेपछि लाइन बस्नेको सङ्ख्या घट्नाका साथै सेवा प्रवाह सहज र छिटो भएको एनओसीले जिकिर गरेको छ।











