गृहमन्त्री श्रेष्ठसँग मात्रै वार्ता गर्ने मिटरब्याजी पीडितकाे अडान
बिहीबार गृहमन्त्रालका प्रवक्ता जितेन्द्र बस्नेत नेतृत्वको टोली मिटरब्याजी पीडितसँग वार्ता गर्न काठमाडौंको शान्तिवाटीका पुगे पनि उनीहरुले भने गृहमन्त्रीसँगै वार्ता गर्ने अडान राखेका हुन्।
काठमाडौं, चैत २३ : चक्रवृति तथा मिटरब्याजीलाई कारबाही गर्नुपर्ने माग सहित काठमाडौं आएका मिटरब्याजी पीडितहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग मात्रै वार्ता गर्ने अडान राखेका छन्।
बिहीबार गृहमन्त्रालका प्रवक्ता जितेन्द्र बस्नेत नेतृत्वको टोली मिटरब्याजी पीडितसँग वार्ता गर्न काठमाडौंको शान्तिवाटीका पुगे पनि उनीहरुले भने गृहमन्त्रीसँगै वार्ता गर्ने अडान राखेका हुन्।
यसअघिका मिटरब्याजी पीडितसँग सरकारले गरेको सहमति र मिटरब्याजीलाई कारबाही गर्ने विषयमा सरकारले गरिरहेको तयारीका बारेमा गृहका प्रवक्ता बस्नेत, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, गृहमन्त्रीका सचिवालय सदस्य लगाएत शान्तिबाटीका पुगेका थिए।
सुरुमा उनीहरुले मिटरब्याजी पीडितहरुको समस्या सुनेका थिए र सो क्रममा पीडितहरुले जाली तमसुक बनाएर आफुहरुलाई पीडा दिएको गुनासो गरे। आफूले वकिल राखेपनि वकिल नै मिटरब्याजीहरुसँग मिल्ने गरेको उनीहरुले बताए।
पीडितहरुको गुनासो सुनेपछि गृह मन्त्रालयका प्रवक्ता बस्नेतले मिटरब्याजी पीडितहरुको समस्या सुन्न प्रधानमन्त्री र गृहमन्त्रीले पठाएको र आफुहरु माग पुरा गर्न सकारात्मक रहेको जानकारी गराएका थिए। उनले यसअघिको पीडितसँग भएको सहमति अनुसार मिटरब्याजसम्बन्धी उजुरीलाई प्राथमिकता दिनका लागि निर्देशन दिएको, समस्या समाधानका लागि सरकारले आयोग गठन गरेको बताएका थिए। उनले सरकारले सबै समस्या समाधान गर्ने भन्दै घर फर्कन आग्रह गरेका थिए।
तर पीडितहरुले आयोगले कहिले काम गर्ने भन्ने थाहा नभएको भन्दै मिटरब्याजका लागि भएको तमसुक खारेज हुनुपर्ने बताएका थिए। मिटरब्याजलाई अपराध नै घोषणा गरे पनि यसलाई रोक्न राज्यले कुनै पहल नगरेको उनीहरुले बताएका थिए।
उनीहरुले यसअघिको सहमति देखाएर राज्य पन्छिन नमिल्ने भन्दै सिधै गृहमन्त्रीसँग छलफल गर्ने अडान राखेका थिए। उनीहरुले पारदर्शी ढंगले शान्तिवाटिकामा नै वार्ता गर्ने भन्दै छिटो निकास निकाल्न आग्रह गरेका छन्।
तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने, भूमि लिलामी बन्द गर्नुपर्ने लगाएतका माग राख्दै मिटरब्याजी पीडितहरुको अर्को समूह काठमाडौं आएको हो।











