सरकारकाे मात्र हाेइन, संसदको पनि सय दिनको समीक्षा गर्नुपर्छ : सांसद दाहाल
संसद जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा गर्ने थलो भएकाले यसलाई काम गर्ने थलोका रुपमा रुपान्तरण गर्नुपर्ने उनको भनाइ थियो।काठमाडौं, चैत २३ : माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सरकारको मात्र नभएर संसदको पनि सय दिनको समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले भने, ‘हामी संसद भवनमा पसेको सय दिन भयो, यी सय दिनको पनि समीक्षा गर्नुपर्छ।’ संसद जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा गर्ने थलो भएकाले यसलाई काम गर्ने थलोका रुपमा रुपान्तरण गर्नुपर्ने उनको भनाइ थियो।
पुराना सोच र चिन्तनबाट नयाँ आवश्यकता पूरा गर्न नसकिने बताउँदै सरकारको सय दिनको समीक्षालाई आधार बनाएर सांसदहरुले भूमिका निर्वाह गर्नुपर्ने बताए।
‘सबैलाई थाहा छ सरकार निर्माण भएको सय दिन भयो। सदनमा सरकारको सय दिनको समीक्षा गरिरहँदा माननीयज्यूहरुलाई मेरो आग्रह छ, पुरानो जगमा उभिएर नयाँ वस्तु देख्न सकिन्न। हामीले अब सत्यको जगमा उभिएर आलोचना र टिप्पणी गर्नुपर्छ।’
सरकारको कामलाई आलोचनात्मक ढंगले नहेरेर जनताका आँखाबाट हेर्नुपर्ने उनले बताए। सरकारको बचाउ गर्दै उनले सय दिनमा सरकारबाट सकारात्मक सन्देश प्रवाह भएको जिकिर गरे। उनले पासपोर्टको लाइन बस्नुपर्ने युवाहरुलाई गएर सोधे सरकारको उपदब्धि थाहा हुने बताए।
‘विदेसिएका युवाहरु सामाजिक सुरक्षामा जोडिएका छन्। जनताको दैनिक समस्या समाधानमा सरकार केन्द्रित भएको छ,’ उनले भने, ‘आर्थिक सुचकांकमा सुधार देखिएको। रासायनिक मल समयमै ल्याउने गरी टेन्डर भएको छ। सय दिनमा जे काम गर्नुपर्ने थियो त्यो काम सरकारले गरिरहेको छ।'











