सरकारको सय दिन उपलब्धिहीन, कार्यहीन र विचारहीन : रघुजी पन्त
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले सरकारको सय दिनको उपलब्धि भन्दै ३७ बुँदा सार्वजनिक गरिए पनि त्यसमा उल्लेखनीय केही पनि नभएको पन्तले बताए।
काठमाडौं, चैत २३ : एमाले सांसद रघुजी पन्तले सरकारको सय दिन उपलब्धिहीन, कार्यहीन र विचारहीन रहेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले सरकारको सय दिनको उपलब्धि भन्दै ३७ बुँदा सार्वजनिक गरिए पनि त्यसमा उल्लेखनीय केही पनि नभएको पन्तले बताए।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुक कता लाने भनेर अन्योलमा रहेको उनले बताए। ‘सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार हो, दिशाहीनता हो, अन्योल हो,’ उनले भने, ‘आजको प्रधानमन्त्रीसँग देशलाई कहाँ लैजाने भन्ने थाहा छैन।’
‘३७ बुँदा पढ्दा केही बुझिँदैन। यो सरकार अहिलेसम्म सय दिन पुग्दा मन्त्रिपरिषद् त गठन गर्न सकेको छैन, अरू के आस गर्नु? यी ३७ बुँदामा न किसानका समस्या छन्, न मुलुकको गम्भीर अवस्थाबारे भिजन छ,’ उनले भने, ‘जनताले उपलब्धि पाउनुपर्यो, जनताले व्यवहारमा सरकार छ भन्ने देखिनुपर्यो।’ अहिलेको सरकारबाट जनता आशावादी नहुनु स्वाभाविक रहेको उनको भनाइ थियो।
व्यक्ति कतिपटक प्रधनमन्त्री भयो भन्ने विषय उल्लेखनीय नहुने भन्दै उनले के काम गर्यो भन्ने महत्वपूर्ण हुने बताए।











