झगडिया न्यायधीश दम्पतीलाई पक्राउ पुर्जी
वैवाहिक जबरजस्ती करणी मुद्दामा श्रीमती रावलले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले गिरीलाई वारेन्ट जारी गरेको हो। यसअघि न्यायाधीश गिरीकी पत्नी आरती रावलविरुद्ध पनि बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
काठमाडौं, चैत २३ : जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश भुवन गिरीलाई पक्राउ पुर्जी (वारेन्ट) जारी गरेको छ। यसअघि गिरीकी श्रीमती आरती रावललाई अर्को किर्ते कागजात मुद्दामा बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ।
वैवाहिक जबरजस्ती करणी मुद्दामा श्रीमती रावलले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले गिरीलाई वारेन्ट जारी गरेको हो। कपिलवस्तु प्रहरीले उक्त उजुरीमा पक्राउ गरी अनुसन्धान गर्न अदालत समक्ष माग गरेको थियो। प्रहरीको माग अनुसार न्यायाधीश गिरीविरुद्ध सोमबार पक्राउ पुर्जी जारी भएको हो। गिरीलाई हाल न्याय परिषदमा कागज तानेर हाजिर गराइएको छ। अब गिरीले अदालतको आदेश वमोजिम कि त आफै अदालतमा सरेण्डर गर्नुपर्छ, या त कुनै पनि बेला पक्राउ गर्न सकिने छ।
यसअघि न्यायाधीश गिरीकी पत्नी आरती रावलविरुद्ध पनि बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात किर्ते गरेको अभियोगमा न्यायाधीश श्रीमती रावललाई पक्राउ गर्न बाँके जिल्ला अदालतले अनुमति दिएको थियो। सरकारी कागजात किर्ते आरोपमा धनराज पुरीले बाँके प्रहरीमा रावलविरुद्ध जाहेरी दिएपछि हाल प्रहरीले खोजी गरिरहेको छ।
न्यायाधीश गिरीले आफ्नी जेठी श्रीमतीलाई मानो चामलसहितको अंश दिएर कान्छी श्रीमतीका रूपमा आरती रावलसँग २०७४ सालमा विवाह गरेका हुन्। बाँके जिल्ला अदालतमा श्रेष्तेदार छँदा एउटा मुद्दाको सन्दर्भमा चिनजानपछि प्रेम विवाह भएको थियो। गिरी र रावलबिच हाल खटपट छ।
विवाद उत्कर्षमा पुगेपछि अहिले आएर न्यायाधीश गिरीले पनि गत मङ्सिर ११ गते रावलविरुद्ध बाँके जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन्। न्यायाधीश गिरीले यता रावलविरुद्ध कपिलवस्तु प्रहरीमा पनि चोरीको जाहेरी दिएका छन्। रावलविरुद्ध कपिलवस्तु जिल्ला अदालतमा पनि गाली बेइज्जतीका ७ थान मुद्दा छन्।
बाँकेमा गिरीले सम्बन्धविच्छेदको मुद्दा दर्तापछि रावलले पनि यता गिरीविरुद्ध कपिलवस्तु प्रहरीमा वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन्। प्रहरीले गत फागुन १४ गते न्यायाधीश गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दर्ता गरेको थियो। वैवाहिक बलात्कारको जाहेरी दिएकी रावलले न्यायाधीश गिरीलाई पदबाटै बर्खास्त गरी कारबाही अघि बढाउन माग गर्दै आएकी छन्। गिरीविरुद्ध न्याय परिषदमा समेत उजुरी परेपछि न्यायाधीशमा जिम्मेवारीविहीन बनाइएको छ।











