आज साँझ ५ बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिँदै
न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल गर्न बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा १० दलीय गठबन्धनको बैठक बसेको थियो।
काठमाडौं, चैत २३ : सत्ता गठबन्धनले आज साँझ ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल गर्न बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा १० दलीय गठबन्धनको बैठक बसेको थियो।
साना दलका सुझावहरू पनि समेटेर बेलुकी ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक सार्वजनिक गरिने भएको हो।
गठबन्धनका दलहरूबीच सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए।
'लोकतन्त्र, राष्ट्रियता, जनजीविकासँग जोडिएका विषय तथा सुशासनका सम्बन्धमा सहमति भएको छ”, बैठकपछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयो, 'आज ५ बजे सार्वजनिक गर्ने तय भएको छ।' उनले गठबन्धनमा आबद्ध दलहरुका बीचमा सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा सैद्धान्तिक छलफल भएको बताए।
'दलहरुबीच नीति कार्यक्रम कस्तो बनाउने भन्ने विषयमा मूलभूतरुपमा सहमति भएको छ । कतिपय सानातिना सुझाव भए आज साँझसम्म समेटिने र ५ बजे सार्वजनिक हुन्छ', उनले भने। राष्ट्रपतिको निर्वाचनपछि सत्तागठबन्धनमा फेरबदल आएसँगै गठबन्धन आबद्ध दलहरु न्यूनतम साझा कार्यक्रम बनाउन जुटेका हुन् ।
बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीलगायत सहभागी थिए।











